कांग्रेसलाई कमजोर बनाएर एमाले माथि जान चाहन्छः योगेश भट्टराई (भिडिओसहित)


काठमाडौं, ३ असार । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपाली कांग्रेस र एमाले एकअर्काका प्रतिस्पर्धी दल रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले चुनावको बेलामा कांग्रेससँग संघर्ष र प्रतिस्पर्धा हुने बताएका हुन् । अहिले एमाले कांग्रेसलाई कमजोर बनाउन चाहन्छ भन्ने कुरा आफूहरुले पार्टीको आधिकारिक प्रतिवेदनमै उल्लेख गरेको उनले सुनाए । कांग्रेसले पनि एमालेलाई कमजोर बनाउन लागिरहेको उनले बताए ।

‘हाम्रो विधान र प्रतिवेदनले के भन्छ भने–कांग्रेसलाई दुस्मन मान्दैन । प्रतिस्पर्धी मान्छ । कांग्रेस हाम्रो प्रतिस्पर्धी हो, प्रतिद्वन्द्वी हो । त्यस कारणले हामी पनि कांग्रेसलाई कमजोर बनाएर माथि जान चाहन्छौं । कांग्रेस पनि हामीलाई कमजोर बनाएर माथि जान चाहन्छ । यो त खुला कुरा हो, लुकाउनुपर्ने विषय होइन,’– उनले भने ।

उनले सत्तामा रहँदा कांग्रेससँग एकता प्रधान रहने र चुनावको बेलामा प्रतिस्पर्धा हुने उनले बताए । ‘हामी आज सरकारमा छौं । सरकारमा हुँदा हाम्रो एकता प्रधान छ । संघर्ष गौण छ कांग्रेससँग । भोलि चुनावमा संघर्ष प्रधान हुन्छ, प्रतिस्पर्धा प्रधान हुन्छ । एकता गौण हुन्छ । त्यसकारणले यिनीहरु हाम्रो विरुद्धमा हुन्छन्,’– उनले भने ।

उनले एमालेसँग नीति, नेतृत्व र विचार रहेको र जनसमर्थन समेत रहेको उनले बताए । जनमत आवधिक हुने बताउँदै उनले २०८४ मा एमाले पहिलो पार्टी हुने दाबी गरे ।