रास्वपाको महाधिवेशन फागुनमा हुन्छ, जेलमै रहेपनि रवि लामिछानेलाई नै सभापति बनाउँछौंः यज्ञमणि न्यौपाने (भिडिओसहित)


काठमाडौं, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टी संसदीय दलको नेता फेर्ने बेला भएको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले सांसदहरुले आवश्यकता महशुस गरेर आफ्नो नेता चयन गर्नुपर्ने बताएका हुन् । उनले अहिले संसद्मा उपनेताबाट नेतृत्व भइराखको उनले बताए । सामुहिक रुपमा अहिले निर्णय भइराखेको बताउँदै उनले अब यस विषयमा सांसदहरुले आवश्यकता बोध गर्नुपर्ने बताए ।

‘हामीले संसदीय दलको नेता चयन गर्ने बेला आयो भनिराखेका छौं । सांसदहरुले गर्ने कुरा हो । ठ्याक्कै कहिले हुन्छ त अब सांसदहरुले आवस्यकता महशुस गरेर आफ्नो नेता चयन गर्नुहुन्छ । उपनेताबाट नेतृत्व भइराखेकै छ । अरु नेताहरु पनि हुनुहुन्छ । सामुहिक रुपमा पनि निर्णय भइराखेको छ । आवस्यकताको बोध नभएर पनि चयन नभएको हो । विधानमा केही समस्याहरु छन्, विधान हेरफेर आवस्यकताको महशुस भएपछि हुन्छ,’– उनले भने ।

साथै, पार्टीको महाधिवेशन अगामी फागुन महिनामा हुने पनि उनले बताए । त्यतिबेलासम्म रवि लामिछाने जेलमै रहेको खण्डमा पनि उनलाई नै अध्यक्ष बनाइने नेता न्यौपानेले बताए । नेपाली कांग्रेसका आदर्श नेता विपी कोइराला जेल पर्दा कांग्रेसले उनलाई नै नेता मानेर अगाडि बढेको उदाहरण पेश गर्दै उनले रास्वपाको सभापति हुन लामिछानेलाई कुनै अप्ठ्यारो नरहेको बताए ।

‘महाधिवेशन हुन्छ फागुनमा । तलमाथि हुन हुँदैन । पार्टी सभापतिको हककमा रवि लामिछानेलाई राखेर अगाडि बढ्न समस्या छैन । पार्टी सभापति भनेको एउटा यस्तो पद हो, जसको कुनै मूल्य हुन्छ, त्यो मूल्य अरुबाट प्राप्त नहुन पनि सक्छ । नेपालकै कुरा गर्नुहुन्छ भने विपी कोइराला जेलमा हुँदा उहाँलाई नै मानेर अगाडि बढेको छ । अन्तर्राष्ट्रिय रुपमा हेर्नुहुन्छ भने धेरै छन् । नेपालमै कतिपय नेताहरु थुनामा जाँदा सभापति मानेको उदाहरण छदै छ नि,’– उनले भने ।

अहिले लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेर थुनामा राखिएको उनको दाबी छ । .पार्टी सभापति लामिछानेले ‘म काठमाडौंको जेलमा बस्छु’ भन्दा पनि राज्यले नदिएको परिस्थितिले पूर्वाग्रह हो भन्ने पुष्टि गर्ने उनले बताए । संसदीय दलको नेतामा अरु कसैलाई बनाए पनि पार्टी सभापतिको हकमा लामिछानेको विकल्प खोज्न नसकिने उनले बताए । ‘आफ्नो घर पायक जेल सरुवा हुन्छु भन्दा, मलाई छोड्देउ भनेको त होइन नि यिनीहरुसँग । फेरि काठमाडौंमै पनि मुद्दा छ । राजनीतिक पूर्वाग्रह रहिराखेको अवस्थामा पार्टी सभापतिमा उहाँको विकल्प खोजिँदैन, खोज्न हुँदैन,’– उनले भने ।