अञ्जना हत्याको सत्यतथ्य छानविनको माग


काठमाडौं, ३ चैत । गत जेठ ३० गते दुई जनाको ज्यान जानेगरी काठमाडौंको बुढानीलकण्डमा भएको हत्याकाण्डको सत्यतथ्य छानविनको माग गरिएको छ । आज (मंगलबार) मृतक अञ्जना तामाङको परिवारले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी घटनाको सत्यतथ्य बाहिर आउनुपर्ने माग गरेको हो । भारतको चण्डीगढ घर भएका परम नारायणले बुढानीलकण्ठ नगरपालिका वडा नं. ४ स्थित ‘पिक्चर पार्क’ फोटो स्टुडियो सञ्चालन गरेका थिए । अञ्जना पनि ५/६ महिनादेखि सोही स्टुडियोमा काम गर्थिन् ।

धादिङको गल्छी वडा नं. ६ स्थिति घर भइ हाल बुढानीलकण्ठ– ४ मा बस्दै आएकी अन्दाजी २८ वर्षकी अञ्जना घरको दोस्रो तलामा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत फेला परेकी थिईन् । सोही ठाउँमा फोटो स्टुडियो सञ्चालक भारतीय नागरिक परम नारायणसमेत मृत भेटिएका थिए ।

‘जेठ ३० गते राति अबेरसम्म अञ्जना डेरामा नआएपछि घर परिवारका मानिसहरुले खोजी गर्दा उनी मृत फेला परेकी थिईन् । ‘अञ्जना तामाङ काम गर्ने फोटो स्टुडियोमा गई बुझ्दा स्टुडियो रहेको घरको ढोकामध्ये एउटामा बाहिरबाट ताल्चा लगाएको र अर्को ढोकामा भित्रबाट लक गरिएको अवस्थामा रहेकोमा ढोका ढक्ढक्याई बोलाउँदा कोही कसैले प्रतिक्रिया नदिएपछि नजिकको प्रहरी र जनप्रतिनिधिहरुलाई खबर गरी रातिको ९ः४० बजेको समय उक्त ढोका फोरी हेर्दा भर्याङको सेतो रङ्गको कुकुर टाउकोमा गम्भीर चोट लागेर मरेको अवस्थामा भेटिएको, पहिलो तल्लाको बीचको कोठाको सोफामा अञ्जना तामाङ टाउकोमा गम्भीर चोट पुर्याइ मारेको अवस्थामा भेटिएको र फोटो स्टुडियो सञ्चालक परमनारायण मृत अवस्थामा लडिरहेको भेटिएको थियो,’– मृतक अञ्जनाका आफन्तले भने ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले अञ्जनाको हत्याको पछाडिको रहस्य पत्ता लगाउन नेपाल प्रहरीसँग आग्रह गरे । उनले यस विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण हुनुपर्ने बताए । ‘अञ्जना तामाङको हत्या कसरी भयो ? प्रहरीले अन्ुसन्धान गर्नुपर्छ । नेपाल सरकारलाई मैले आग्रह गरेको छु । म गृहमन्त्री रमेश लेखकलाई पनि भन्न चाहन्छु– एक जना नारीको हत्या भएको छ । यो हत्याकाण्ड पछाडिका पात्र को–को छन् ? कसरी यो हत्याकाण्ड भयो ? यसको तथ्य सत्य बाहिर आउनुपर्यो, दोषीलाई कारबाही हुनुपर्यो,’– उनले भने ।