काठमाडौं, ३ असार । पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बामाले झोले’ को संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले केही दिनअघि विद्यार्थीको एक कार्यक्रममा आफ्नाविरुद्धमा कहिल्यै ‘सकारात्मक नहुने, पार्टीको समर्थन नगर्ने, ढुङ्गा हान्ने अराजक, फाइदा र पद खोज्ने’ भनी भ्रम सिर्जना गरेको उनको आरोप छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष अोलीले लगाएको आरोप करिब एक हप्ता लगाएर अध्ययन गरेको पनि उनले खुलाएका छन् ।
‘झोले प्रधानमन्त्रीबाट मेरोविरुद्ध लगाइएका आरोप हास्यास्पद, झुटा, सत्ता उन्मादी र विद्वेषपूर्ण देखिए । मलाई लगाइएका आरोप यथार्थमा ओली स्वयंको जीवन चरित्र, व्यवहार र प्रवत्तिलाई झल्काउने रहेछन्,’– उनले भनेका छन् ।
ओलीका अनेकौं विचार, व्यवहार र प्रवृत्ति देश, जनता र पार्टीको हित प्रतिकूल तथा एमालेको सिद्धान्त, नीति, कार्यक्रम, मूल्य र मान्यता विपरीत रहेको उनको दाबी छ । आफ्ना गलत क्रियाकलापमाथि पर्दा हाल्न त्यस्ता भ्रमपूर्ण कुराहरु गरेको हुनसक्ने उनको अनुमान छ ।
‘मेरो बारेमा ओलीका आरोपहरु पनि उक्त चतुऱ्याइकै उपज हुन् । मैले गत पुष महिनामा नै ओलीका देश, जनता, नेपालको संविधान तथा एमालेको सिद्धान्त, कार्यक्रम र मान्यता विरोधी क्रियाकलाप, विचार र प्रवृत्तिको बारेमा तथ्यगत किसिमले विस्तृत रुपमा स्पष्ट गरेको थिएँ । मैले अघि सारेका कुनै तथ्यको खण्डन र उठाएका प्रश्नको जवाफ “झोले” हरुले आजसम्म दिनसकेको छैन्,’– उनले भनेका छन् ।





प्रतिक्रिया