काठमाडौं, ३ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको जुनसुकै ठाउँबाट चुनाव उठेपनि आफूले जित्ने बताएका छन् । आज (मंगलबार) चितवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले देशभर प्रचण्डको आह्वान भइरहेको बताएका हुन् । ‘बाबुराम भट्टराई पनि अब आफैं उठ्ने रे ? तपाईँ कहाँबाट चुनाव लड्ने त २०८४ मा’ भन्ने प्रश्नमा उनले आफूलाई अहिले बाबुरामले दिनुपर्ने अवस्था नरहेको बताए ।
‘बाबुरामले दिन पनि परेको छैन । अहिले प्रचण्डको स्थिति के छ भने देशको जुनसुकै ठाउँबाट पनि जित्छ प्रचण्डले । ढुक्क हुनुस् । यति धेरै ठाउँमा मेरो आह्वान भएको छ, तपाईँ आइदिनुपर्यो भन्नेको तछाडमछाड छ, के–को प्रचण्डलाई चुनाव ?’ प्रश्न गर्दै उनले भने ।
साथै, उनले विद्यालय शिक्षा ऐन, संघीय निजामति ऐन, नागरिकता ऐनलगायतका महत्वपूर्ण विषयलाई मध्यनगर गर्दै सदन सुचारु हुन दिइएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा भाँडभैलो भइराखोस् भन्ने चाहेको पनि उनले बताए ।
‘कांग्रेस–एमाले सरकारमा छन् । जेसुकै गरुन् भन्ने हो भने उनीहरु नगर्ने पक्षमा छन् । तपाईँहरुले अहिलेको अवरोधको कुरालाई हेर्नुभयो भने यो अवरोध रहिराखे हुन्थ्यो भन्ने सरकारको नेतृत्व चाहन्छ । यो अवरोध नखुले हुन्थ्यो भन्ने चाहना छ,’– उनले भने ।




प्रतिक्रिया