प्रधानमन्त्री ओलीलाई राजा नै आएपनि केही टेन्सन छैनः प्रचण्ड


काठमाडौं, ३ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजावादीहरु नै आए पनि केही फरक नपर्ने टिप्पणी गरेका छन् । आज (मंगलबार) चितवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राजावादीहरु सल्बलाउँदा अहिलेको सरकारलाई कुनै टेन्सन नै नभएको बताएका हुन् ।

‘देश जहाँसुकै जाओस्, ऐन कानुन जेसुकै हुन्, संविधान जेसुकै होस् भन्यो भने संविधान नै धरापमा पर्ने खतरा मैले देखिराखेको हुन्छु । हिजो पनि, आज पनि तपाईँले हेर्नुभयो भने सत्ता पक्षलाई राजावादी नै आए पनि धेरै टेन्सन भएको देख्नुभएको छ तपाईँहरुले । राजावादी नै आउँछन् भने पनि अहिलेको सरकारको नेतृत्वलाई टेन्सन भएको कहीँ कतै देखिँदैन,’– उनले भने ।

माओवादी प्रतिपक्षमा भए पनि वर्तमान व्यवस्था र संविधानप्रतिको जिम्मेवारी आफूहरुलाई गहिरोगरी बोध रहेकोउनले बताए । जनताले प्राप्त गरेको अधिकारको रक्षा, व्यवस्थाको रक्षालगायतका कुराका लागि आफूहरुले तराई–मधेश अभियान नै छाडेर काठमाडौं फर्किएको पनि उनले स्मरण गराए ।

‘हामी प्रतिपक्षमा छौं । तर, जिम्मेवारी बोधको दृष्टिकोणले यो सिस्टमको रक्षाको दृष्टिकोणले, जनताले प्राप्त गरेको अधिकारको रक्षाको दृष्टिकोणले हामी अगाडि नआउँदा दुर्घटना हुने खतरा हामीले देख्यौं । हामी तराई–मधेशमा जनतासँग अभियानमा थियौं । तर, काठमाडौंमा आजै नारायणहिटी छिर्ने रे, भोलि नै नारायणहिटी छिर्ने रे भनेको जस्तो होहल्ला र सरकारसँग असन्तुष्ट मान्छेहरु पनि जोडिइसकेपछि हामीले ठान्यौं हाम्रो जिम्मेवारी छ,’– उनले भने ।

अध्यक्ष प्रचण्डले संघीय निजामति ऐन, विद्यालय शिक्षा ऐन, नागरिकता ऐन, शान्ति प्रक्रियासम्बन्धी बाँकी काम टुङ्ग्याउनुपर्ने विषयहरु प्रति आफूले जिम्मेवार भएर सोचेको र भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग दुई बुँदे सम्झौता गरेको उनले बताए । अध्ययन र छानविनलाई गम्भीरतापूर्वक अगाडि बढाउने र ३० दिनभित्र छानविनका लागि समिति बनाउने कुराको प्रतिवद्धता आएपछि आफूहरुले ऐन बनाउने कुराको प्राथमिता बोध गरेर संसद् सुचारु गर्नेतिर लागेको उनले बताए ।

‘गृहमन्त्रीको राजीनामा माग गरेका थियौं । हामी कडै ढंगले प्रस्तु्त भएका पनि थियौं । राजीनामा नैतिकताको कुरा हो भन्ने पनि हामीलाई थाहा थियो । अहिले हामीले फेरि यो दुई बुँदे भन्ने कुरा आएको छ नि । यो दुई बुँदे नगरेको भए पनि हुन्थ्यो भन्छन् कसैले, कसैले के भन्छन् । यो चाहीँ बडो बचकना कुरा हो भन्ने लाग्छ । उनीहरुले नेपाली राजनीतिलाई नबुझ्नुको परिणाम पनि हो । यो अन्तरविरोधको परिस्थिति थाहा नपाउनुको उपज पनि हो,’– उनले भने ।