काठमाडौं, ३ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा सम्बन्धी विधेयकमा उल्लेख भएको कुलिङ पिरियडका कारण आजको संसद् नचलेको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् । आज (मंगलबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उक्त विधेयक समितिबाट सर्वसम्मतिले पारित भएर संसदमा दर्ता भएको बताए ।
सो विधेयकको छलफलमा सामान्य प्रशासन मन्त्री, शिक्षामन्त्री, गृहमन्त्री र रक्षामन्त्रीसमेतले सहमति जनाइसकेको बताउँदै उनले एक जना रामहरि खतिवडालेमात्रै हस्ताक्षर गरेको जस्तो हल्कारुपमा लिन नहुने बताए । कर्मचारीहरुको अवकाशपछिको कुलिङ पिरियडको बारेमा आफू .विगतदेखि अहिलेसम्म दृढ रुपमा रहेको उनले सुनाए । निजामती कर्मचारी विधेयककमा दुई वर्षको कुलिङ पिरियड राखिएको छ ।
‘समितिले सर्वसम्मत रुपमा पारित गरेको, समितिमा मन्त्रिपरिषद्को प्रतिनिधित्व, माननीय सामान्य प्रशासन मन्त्री जो विधेयक पेश गर्ने, माननीय शिक्षामन्त्री, गृहमन्त्री र रक्षामन्त्री चार जना मन्त्री आएर, बसेर सर्वसम्मत रुपमा पठाएको हो कुलिङ प्रियड लगायत निजामति विधेयकको बारेमा । यो व्यक्तिगत रुपमा रामहरि खतिवडाको सही (हस्ताक्षर) ले मात्रै आएको भन्ने भ्रम नपरे हुन्छ । यो रहनुपर्छ भन्ने मेरो धारणा थियो । सुरुदेखि नै थियो । आज पनि छ । तर, यही कुलिङ प्रियडको कारणले आजको संसद् नचलेको भन्ने मलाई चाही जानकारी छैन,’– उनले भने ।
उनले सो विधेयक प्रतिनिधिसभामा दर्ता भइसकेको बताउँदै अरु परिवर्तन हुन्छ भन्ने कुरा आफूलाई विश्वास नरहेको सुनाए । उक्त विधेयक प्रस्तुत नहुनका लागि कि त सरकारले नै फिर्ता लिनुपर्ने उनले बताए । नेता खतिवडाले निजामति विधेयक यो संसद्को उपलब्धीमध्ये सबैभन्दा ठूलो उपलब्धी रहेको बताए । File Photo/RN




प्रतिक्रिया