‘कुलिङ पिरियड’ को बहानामा संघीय निजामती ऐन रोक्न हुँदैनः एमाले नेता थापा


काठमाडौं, ४ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले कुलिङ पिरियडको बहानामा संघीय निजामती ऐन जारी नहुने स्थिति सिर्जना गर्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जसरी पनि नयाँ निजामती ऐन चाहिएको बताए । उनले कुलिङ पिरियडलाई बहाना बनाएर ऐन रोक्न नहुने बताए ।

‘यो कुलिङ पिरियड पनि अनावश्यक कुलिङ भइराखेको छ । यो राख्दाखेरी, नराख्दाखेरीका फाइदा बेफाइदाको बारेमा कुनै रिसर्च पनि छैन । राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्ष कुलिङ पिरियडको प्रस्ताव गर्यो । यसमा राजनीतिक उच्च तहमा समझदारी भएर दुई वर्ष नै राख्नुपर्छ भन्ने पनि मेरो जानकारीमा छैन,’– उनले भने ।

निजामती सेवाका मुख्यसचिवदेखि सचिवहरुले सामूहिक रुपमा सभामुखलाई भेटेर कुलिङ पिरियडको बारेमा छलफल गरेको उनले बताए । यसरी व्यवस्थापिकालाई कर्मचारीहरुले दवाब दिन नहुने उनले बताए । ‘मुख्यसचिवदेखि सचिवसम्म जरुरी छ कि छैन भनेर व्यवस्थापिकालाई दवाब दिन जाने तरिका पनि गलत हो । तर, कुरा के हो भने कुलिङ पिरियडले देशलाई के फाइदा गर्छ भन्ने अनुसन्धान भएर त्यसको रिपोर्टमा आधारित भएर गरिएको मलाई लाग्दैन । राजनीतिक तहमा समझदारी हुँदा कुलिङ पिरियड राख्नु उपयुक्त हो भन्ने नै छलफल भएको पाइन्छ,’– उनले भने ।