काठमाडौं, ४ असारर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गृहमन्त्री लेखकविरुद्ध कुनै उजुरी नपरेको र अख्तियारले समेत छानविन नगरेको अवस्थामा उनले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् ।
‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु पर्दैन ?’ भन्ने प्रश्नमा उनले भने, ‘पर्दैन । उहाँको विषयमा त कुनै छलफल नै भएको छैन । न अख्तियारले हेरेको छ, न कसैले मुद्दा हालेको छ, न केही भनेको छ । राजीनामा त माग्छन् नि । यो राजनीति हो । उहाँहरुलाई राजनीतिक अभीष्ट पूरा गर्न मन लागेको छ । यसो भनेपछि फाइदा हुन्छ कि भनेर लाग्नुभएको छ । भोलि अर्कोतिर गएर यो भन्दा फाइदा हुन्छ कि भनेर लाग्नुहुन्छ । त्यो उहाँहरुको कुरा हो ।’
सभामुख देवराज घिमिरेले सबैसँग छलफल र परामर्श गरिराखेको उनले बताए । विधि र प्रक्रियामा नै रहेर उनले सदन सञ्चालन गरेको उनले बताए । उनले सरकारको स्पष्ट बहुमत हुँदा पनि सभामुख साह्रै सोझो भएर सदन सुचारु गर्न नसकेको बताए ।




प्रतिक्रिया