तीनकुनेको आन्दोलनमा राज्य पक्षले आतङ्क मच्चाएको हो, हामी त्यसको जिम्मेवार होइनौंः महामन्त्री जबरा (भिडिओसहित)


काठमाडौं, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले आफ्नो पार्टीको एजेण्डा सनातन धर्मसापेक्ष हिन्दु राज्य र राजासहितको प्रजातन्त्र रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुको उक्त एजेण्डा पूरा नहुन्जेल आन्दोलन जारी रहने बताए । उनले आफूहरुले जनतामाझ जाँदा पनि आफ्नो एजेण्डा प्रष्ट राख्ने गरेको बताए ।

‘यो व्यवस्था राम्रो छैन । यो व्यवस्था जनताको अनुकूल छैन । यो परिस्थितिलाई परिवर्तन गर्नुपर्छ भनेर संविधानले नै दिएको बाटोलाई टेकेर हामीले परिवर्तन गर्न खोजेको हो । हामी चुनावमा जनताकहाँ जान्छौं । जनताकहाँ जाँदाखेरी हामी ढाँट्दैनौं । राप्रपाको एजेण्डा प्रष्ट छ,’– उनले भने ।

जनताले वर्तमान व्यवस्थाको विकल्प खोजेको र यो परिवर्तन भएरै छाड्ने उनले बताए । गत चैत १५ गते काठमाडौंको. तिनकुनेको आन्दोलन आफूहरुले नगरेको उनले बताए । दुर्गा प्रसाईँको योजनामा आफूहरु आमन्त्रित भएर गएको उनले बताए । महामन्त्री जबराले जिल्ला प्रशासन कार्यलयबाट दुर्गा प्रसाईँले अनुमति लिएको उनले बताए । त्यो आन्दोलनमा राज्यपक्षले आतङ्क मच्चाएको र आफू त्यसको जिम्मेवार पात्र नरहेको उनले बताए ।

‘चैत १५ गतेको आन्दोलनको जिम्मेवारी, योजना र आयोजना दुर्गा प्रसाईँले गरेको हो । राजावादी जसले पनि आन्दोलन, कार्यक्रम गर्दा म उपस्थित हुन्छु । चाहे ठूलो होस् वा सानो होसु, प्रोत्साहन गर्नका लागि म उपस्थित हुन्छु । तर, त्यहाँ राज्यले आतङ्क मच्चाएको हो । त्यो आन्दोलनका कार्यकर्ताले आतङ्क मच्चाएको होइन,’– उनले भने ।