उद्योग, बैंक र हस्पिटल पाँच/सात जना व्यक्तिको हातमा जाँदा देश माफियामय भएको छः कांग्रेस नेता भण्डारी (भिडिओसहित)


काठमाडौं, ५ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारीले निरन्तर एउटै नेतृत्वले देश चलाउँदा आशा जगाउन नसकिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले घुमीफिरी एउटै नेतृत्व सत्तामा आउनुको कारणले जनतामा निराशा बढ्दै गएको बताएका हुन् । उनले घुमिफिरी शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै नेतृत्वमा आइरहेको तर्फ लक्षित गर्दै यस प्रकारको परम्परा परिवर्तनको आवस्यक रहेको बताए । नेपालमा सही व्यक्ति सही समयमा, सही ठाउँमा नियुक्ति गर्न नसकिएको उनले बताए ।

‘निरन्तर एउटैमात्र नेतृत्व र त्योसित नयाँ दृष्टिकोण, नयाँ विचार नभएको कारणले आशा देखिएको छैन । अर्को कुरा केही हुँदैन भन्ने न्यारेटिभ भयो । केही हुन्छ भन्ने कुरा देखाउनका निम्ति नयाँ नेतृत्व आउनुपर्छ । भारतजस्तो ठूलो देशमा नेतृत्व परिवर्तन भइरहन्छ, त्यसले आशा जगाउँछ । अमेरिका, बेलायत, अष्ट्रेलियामा नयाँ नेतृत्व आउँछ र त्यसले आशा देखाउँछ,’– उनले भने ।

उनले देश सीमित केही व्यक्तिको हातमा रहेको बताए । पाँच/सात जना व्यक्तिको हातमा देशको अर्थतन्त्र सीमित रहँदा देश माफियामय भएको उनले बताए । ‘सात पाँच/सात जना व्यक्तिहरुको हातमा उद्योग छ, बैंक छ, स्कूल छ, हस्पिटल छ । सबै कुराहरु एउटा सीमित व्यक्तिमा केन्द्रीकृत गरिसकेपछि त यो देश त माफिया र विचौलियाको भइहाल्यो नि । आज एउटा व्यक्तिले अर्बौं ऋण पाउँछ भने किसान, युवाहरुले ऋण पाउँदैनन् । यो देश केही व्यक्तिहरुको हातमा छ । यसलाई तोड्न हामीलाई पनि हम्मेहम्मे भइरहेको छ,’– उनले भने ।