भिजिट भिसा प्रकरणमा अझ सशक्त रुपमा प्रस्तुत हुन रास्वपा सचिवालय बैठकको निर्देशन


काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा अझ सशक्त रुपमा प्रस्तुत हुन पार्टी संसदीय दललाई निर्देशन गरेको छ । हिजो (बुधबार) बसेको पार्टी सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा सशक्त रुपमा प्रस्तुत हुन निर्देशनसहित विभिन्न निर्णयहरु गरेको हो ।

‘वर्तमान अवस्था र भिजिट भिसा काण्डमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भयो । उक्त मुद्दा विरुद्ध पार्टी एकढिक्का भएर अघि बढ्ने तथा भिजिट भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने,’– निर्णयमा भनिएको छ ।

रास्वपा सचिवाल बैठकले सभापति रवि लामिछानेमाथि झुट्टा र प्रतिशोधपूर्ण तरिकाबाट मुद्दा लगाइएको निष्कर्ष निकालेको छ । साथै, केन्द्रीय विभागहरुमा मनोनयन तथा जिम्मेवारी हेरफेरुसमेत गरिएको छ । नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी डा.स्वर्णिम वाग्ले र उपप्रमुखको जिम्मेवारी सन्तोष परियारले पाएका छन् ।

अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा मनिष झा कृषि विभाग प्रमुखमा राजन गौतम (चितवन) चयन भएका छन् । वर्तमान विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य संवाद कार्यदल’ गठन गर्ने निर्णयसमेत भएको छ ।

त्यस्तै पार्टी स्थापनाको दिन असार ७ गते बिहान ९ बजे ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउनेसमेत निर्णय भएको छ । File Photo/RN