सदनमा रास्वपाः माग पूरा नभएसम्म अवरोध जारी राख्ने चेतावनी


काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य हरि ढकालले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले उठाएको गम्भीर विषयमा सरकारले सुन्न नचाहेको बताए । उनले आफूहरुको माग पूरा नभएसम्म संसद् अवरोध कायमै रहने बताए । गृहमन्त्री रमेश लेखकको राजीनामा र छानविन समिति बनाउनुपर्ने रास्वपाको माग छ ।

‘विषम र गम्भीर विषय लिएर हामी आन्दोलित हुँदैगर्दा सरकारले हाम्रो आवाज सुनेको छैन । त्यसकारण हाम्रो आन्दोलन जारी छ । हाम्रो दलले उठाएको मागहरु सम्बोधन नभएसम्म आन्दोलन जारी छ,’– उनले भने ।

साथै, गृह मन्त्री लेखकले सदनमा आएर बोल्दा भूइँमान्छेको आवाजप्रति कटाक्ष गरेको उनले बताए ।