संसद्मा प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताहरुको भुँडी भर्नको लागि हो ?


काठमाडौं, ५ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बजेटको असमान वितरण गरेर सरकारले अन्याय गरेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नेताहरुको क्षेत्रमा बजेट खन्याउने र बाँकी जनताहरु हेरेको हेर्यै हु्ने अवस्था रहेको उनले बताए । देशको बजेट नेपाली जनताको रगत पसिनाबाट बनेको पनि उनले सरकारलाई स्मरण गराए । देशको बजेटमा सबैको समान लगानी रहेको बताउँदै उनले विनियोजन पनि समान हुनुपर्ने बताए ।

‘एउटा व्यापारीकोमा गएर हामीले पैसा दियौं भने उसले पैसावापत सामान दिन्छ । एउटा मजदुरले कहीँ गएर काम गर्यो भने काम गरेवापतको ज्याला पाउँछ । नेपाली जनताले तिरेको करको चाहीँ रिटर्न चाहिन्छ कि चाहिँदैन ? सबै नेपाली जनताको समान हक हो कि होइन ? यदि समान हक छ भने म सोध्न चाहन्छु– अहिलेको १९ खर्ब ६४ अर्ब रुपैयाँलाई यदि १६५ निर्वाचन क्षेत्रमा बाँडियो भने ११ अर्ब ९० करोड रुपैयाँ हुन्छ । यस्तो अत्याचार किन भयो ? नेताजीको क्षेत्रमा पूरै बजेट खन्याइयो, अरु सांसदहरु हेरेको हेर्यैजस्तो भयो । नेपाली जनताले तिरेको कर नेताहरुको भुँडी भर्नलाई हो ? जनताहरु हेरेको हेर्यै हुने नेताजीहरु मालामाल हुने । यो असमानता देखिएको छ । सरकारले न्याय गरिरहेको छ कि अपराध गरिराखेको छ ? नेपाली जनतासँग पैसा लिने रिटर्न नदिने ?’ प्रश्न गर्दै उनले भने ।

नेपाल चलाउन नेता बनेको कि नेपाल बेच्न नेता बनेको भन्ने प्रश्न खडा भएको उनले बताए । नेपाली जनताले अहिले साँच्चै नेतृत्व हो कि चोर हो भनेर खोजीरहेको उनले बताए । जनताले सबै दिनु्पर्ने र बजेटभने एक ठाउँमा मात्रै खन्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए । नेता साहले नेतृत्वलाई चोरको संज्ञा दिँदै चोरहरुको हातबाट देशलाई मुक्त गराउन आवश्यक भएको बताए ।

‘हाम्रो उत्पादनहरु महँगो भयो । हाम्रो व्यवसायहरु चौपट भइराखेको छ । किन भने करको कर छ । कर आतङ्क छ । जनताले सबै दिनुपर्ने, चोरहरुको हातबाट देशलाई मुक्त गराउन जरुरी छ । कुशल नेतृत्व भयो भने बेइमानी हुँदैन,’– उनले भने ।