भिजिट भिसा प्रकरणमा संसदीय समिति बन्नुपर्ने र विभिन्न मितिमा गृहमन्त्री बनेका १४ जनामाथि छानविन हुनुपर्ने राप्रपाको माग


काठमाडौं, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरण छानविनको लागि संसदीय समिति बनाउनुपर्ने बताएका छन् । आज (बिहीबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भिजिट भिसा प्रकरण आजको विषयमात्रै नभएकाले २०६४ सालका गृहमन्त्री कृष्णप्रसाद सिटौलादेखि हालका बहालवाला गृहमन्त्री रमेश लेखकसम्म छानविन गरिनुपर्ने बताए । उनले यसलाई कुनै दल विशेषको एजेण्डा नबनाएर सबैले साझा एजेण्डाको रुपमा अगाडि लानुपर्ने उनको धारणा छ ।

‘सबै सांसदहरु यो भिजिट भिसा प्रकरणमा एक ठाउँमा आउनैपर्छ । भिजिट भिसा प्रकरण आजको मात्र मुद्दा होइन । २०६४ सालका पहिलो गृहमन्त्री कृष्ण प्रसाद सिटौलादेखि अहिलेका बहालवाला गृहमन्त्री रमेश लेखकसम्म १४ जना गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउनुपर्छ । किनभने भिजिट भिसा प्रकरण आजको मात्रै होइन । सबैलाई छानविनमा ल्याउनका निम्ति संसदीय छानविन समिति बनाउनुपर्छ । यो हाम्रो माग आज पनि राखिराखेका छौं । यो माग सम्बोधन नभएर विरोधका बावजुद पनि संसद् चल्छ भने हामीले बहिस्कार गर्ने निर्णय गरेका छौं,’– नेता शाहीले भने ।

नेता शाहीले संसद् बहिस्कार गरेको दिनको आफूहरुले भत्तासमेत नलिने बताए । उनले आफूहरुलाई सो दिनको भत्ता नदिन भन्दै संसद् सचिवालयमा पत्राचार गरिएको बताए । उनले भने, ‘बहिस्कार गरेको दिनको भत्ता उपलब्ध नगराइदिनका लागि संघीय संसद्को सचिवालयलाई हामीले पत्राचार पनि गरेका छौं ।’ File Photo/RN