राप्रपा महामन्त्री जबरालाई धमलाको प्रश्नः गणतन्त्रको विरुद्धमा लड्ने अझै हिम्मत छ ?


काठमाडौं, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबराले अन्तिम सास रहेसम्म गणतन्त्रको विरुद्धमा लडिरहने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजसंस्था पुनर्स्थापना र र्मसापेक्ष हिन्दु अधिराज्यको पक्षमा आफू निरन्तर लागिरहने बताएका हु्न् ।

‘अझै गणतन्त्रको विरुद्धमा लड्ने हिम्मत छ तपाईँसँग ?’ भन्ने प्रश्नमा उनले उनले भने, ‘अन्तिम साससम्म लडिरहन्छु । यो व्यवस्थामा देशको उन्नति र प्रगति भयो भने खुसीका साथ आफ्नो अभियानलाई थाम्छु । आजको दिनमा यो व्यवस्था र यो अवस्थाले देश आक्रान्त छ । जनता त्राहीत्राही छन् । यस कारणले जनता र देशको सेवा सनातन धर्मसापेक्ष हिन्दु अधिराज्यको लडाईँ म जारी राख्ने छु ।’

साथै, गत चैत १५ गतेको आन्दोलनपछि आफूलाई हिरासतमा राखिँदा त्यहाँको प्रहरी प्रशासनले सम्मानपूर्वक व्यवहार गरेको उनले बताए । आफूलाई हिरासतमा कुनै पनि प्रकारको अपमान नभएको उनको भनाइ छ । बेवस्थाको विरुद्धमा लडिरहने जवाफ दिएका जबरालाई धमलाले प्रश्न गरे, ‘फेरि पनि जेल बस्न मन लागेको छ ?’

जवाफमा उनले भने, ‘कसलाई मन लाग्छ जेल बस्न ? तर, अवस्था आयो र बस्न पर्यो भने दुःख लाग्ने छैन । राजनीति गर्ने मान्छेहरु डराउँछन् ? मैले भनिहाले नि आस्थाको कारणले मानिसहरु ३०/३० वर्ष जेल बसेका छन् । हामी त २५/२६ दिन जेल बस्यौं, के ठूलो कुरा हो र ?’