काठमाडौं, ५ असार । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नम्बर व्यूरोले भ्रष्टाचारविरुद्धको अभियान घोषणा गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीले भ्रष्टाचारविरुद्धको अभियान घोषणा गरेको हो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी ९ नम्बर व्यूरोका सेक्रेटरी चिन्तामणि पौडेलले भ्रष्टाचारको विरुद्धमा देशव्यापी आन्दोलन सुरु गरिएको बताए । अब पार्टीले भ्रष्टाचारीहरको कर्तूत जनतामाझ लिएर जाने उनले बताए ।

‘आज देश अत्यन्तै अप्ठ्यारो अवस्थामा छ । देश भ्रष्टाचारको दलदलमा फसेर जनता चाहिँ त्यसको चपेटाबाट छट्पटाइरहेको अवस्थामा पार्टीले यो प्रकारको अवस्थालाई हेरेर बस्न सक्ने अवस्था छैन । देशव्यापी रुपमा यसको विरुद्धमा खबरदारी गर्ने, जनतालाई सचेत गराउने, जनतालाई संगठित गरेर भ्रष्टाचारको विरुद्ध आन्दोलनलाई संगठित गर्ने अभिप्रायका साथ र भ्रष्टाचारीहरको जुन प्रकारका कर्तुतहरु छन्, ती जनताको बीचमा सार्वजनिक गर्ने र जनस्तरबाटै कारबाही गर्न पार्टीले चरणवद्ध रुपमा कार्यक्रम सारेको छ,’– उनले भने ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी ९ नम्बर व्यूरोका इन्चार्ज दिनेश शर्मा (सागर) ले अहिले राष्ट्रियतालाई कमजोर बनाउने र जनतालाई गरिबीको रेखामुनि धकेल्ने प्रकारका गतिविधिहरु भइरहेको बताए । त्यस्तो गतिविधिहरुको विरुद्धमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अभियान नै सुरु गरेको उनले बताए ।
‘राष्ट्रियतालाई कमजोर बनाउने, जनतालाई गरिबीको रेखामुनि धकेल्ने, यस खालका गतिविधिहरुको विरुद्धमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल विगतदेखि नै खबरदारी गर्दै आइरहेको छ,’– उनले भने ।
प्रतिक्रिया