यौन व्यवसायलाई मान्यता दिएर राज्यले फाइदा लिन सक्नुपर्छः कांग्रेस नेता घिमिरे


काठमाडौं, ६ असार । नेपाली कांग्रेस संसदीय दलका नेता श्याम घिमिरेले यौन व्यवसायलाई मान्यता दिएर राज्यले फाइदा लिन सक्नुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यौन व्यवसाय सदियौंदेखि चल्दै आएको र यसलाई नेपालको कानुन र समाजले भने बैधता दिन नसकेको बताए । यौन व्यवसायलाई कानुनी मान्यता नदिइएको कारण यौनकर्मीहरु ठूलो शोषणमा परेको उनले बताए । यौन व्यवसायलाई व्यवस्थित गर्नका लागि कानुनी मान्यता आवश्यक रहेको उनले बताए ।

उनले यौन व्यवसाय युगौंदेखिचल्दै आएको र दक्षिण एसियाको पनि सबै मुलुकहरुमा चल्दै आएको दाबी गरे । बुद्धकालीन समाजदेखि, रामायणकालीन समय, द्ववापर र त्रेतामा र पछिल्लो समयमा पनि यौन व्यवसाय चल्दै आएको उनले बताए । उनले अहिले झण्डै एक लाख यौनकर्मी रहेको तथ्याङ्क सार्वजनिक भएको दाबी गरे ।

‘अहिले पनि यस विषयमा काम गरिरहेका संस्थाहरुले गरेको एउटा रिपोर्ट छ, झण्डै एक लाख यौनकर्मीहरु नेपालमा काम गरिराखेका छन् । उनीहरु असाध्यै ठूलो शोषण र मारमा परिराखेका छन् । उनीहरुबाट कुनै पनि किसिमको राज्यले फाइदा पनि लिएको छैन । तर, उनीहरु असाध्यै ठूलो मारमा छन्, शोषणमा छन् । दलालहरुले त्यसको फाइदा उठाइरहेका छन् । यो गैरकानुनी भएको कारणले पुलिसले पाइदा उठाएको छ । भनेपछि यसलाई कानुनी स्वरुप दियो भने यो व्यवसायमा लाग्ने मानिसहरुले शोषणको मार पनि खप्नुपर्दैन । सम्मानित जीवन पनि जिउन सक्छन् भन्ने विषयमा थुप्रै संघ संस्थाहरु लागिराखेका छन् । मैले मात्रै कुरा पहिलोचोटी उठाएको होइन,’ उनले भने, ‘काुनन बनाएर व्यवस्थित गर्न सकिन्छ, यो हरेका कालखण्डमा चल्दै आएको व्यवस्था हो । तर, यसलाई कानुन र समाजले कहिल्यै पनि स्वीकार गरेन । यो अनबरत रुपमा चल्दै पनि रह्यो । यसलाई कानुनी बैद्यता दिइयो भने यो व्यवस्थित हुन्छ । राज्यले पनि केही कर पाउला ।’

उनले संसद्मा आफू प्रमुख सचेतक रहेकाले अहिले यौन व्यवसायको बारेमा खुल्ला रुपमा बोल्न नपाएको उनले बताए । आफूले संसद्मा यौन व्यवसायको बारेमा बोलेको भोलिपल्ट सात वटा संस्थाहरुले धन्यवाद दिएको उनले बताए । आफूलाई यौन व्यवसाय अव्यवस्थित भयो, यसलाई व्यवस्थित गरौं भनेको उनले बताए । बन्द गर्न नसकिने अवस्थामा यसलाई व्यवस्थित गर्नुको विकल्प नरहेको उनले बताए । यौन व्यवसाय पूर्ण रुपमा बन्द गर्न असम्भव रहेको उनले बताए ।