काठमाडौं, ६ असार । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद राजन दाहालले प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको व्यवस्था भत्काउन उद्धत रहेको आरोप लगाएका छन् । अहिलेपनि प्रधानमन्त्री ओलीले सकेसम्म आफ्नो पार्टीलाई ठूलो बनाउने र एकलौटी सरकार बनाउन खोजेको पनि दाहालको आरोप छ ।
प्रधानमन्त्री ओली संसद् विघटन गर्ने दिशामा अघि बढेको उनको दाबी छ । तर, व्यवस्था बचाउनको लागि र प्रधानमन्त्री ओलीको बदनियतपूर्ण सोचका विरुद्धमा आफूहरुले विचार मिल्नेसँग ध्रुवीकरण गर्ने दाहालको भनाई छ । उनले अहिले आफूहरुलाई सरकारमा जान हतार नभएको स्पष्ट पारे ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले प्रधानमन्त्री ओलीले जहिल्यैपनि एम्बुस थाप्ने काम गरेको भन्दै पछिल्लो पटक ओलीले बोलाएको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रचण्ड नजानुको कारण सुनाए । पछिल्लोपटक माओवादीले सदनको अवरोध खुलाउनको लागि गरेको २ बुँदे सहमतिलाई लिएर पनि माओवादीलाई बदनाम गर्न खोजिएको भन्दै प्रधानमन्त्री ओलीको नियतमाथि प्रश्न उठाए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने आफूहरुको मत रहेको बताएका छन् । उनले भने,‘हाम्रो प्रष्ट माग के थियो भने माननीय गृहमन्त्रीको राजीनामा नैतिक विषय थियो । उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । किनभने गृह मन्त्रालयको संस्थागत संलग्नताबिना यति ठूलो मानव तस्करी प्रकरण असम्भव हुन्छ । अस्वभाविक कर्मचारीको अदलाबदली, बदमासी गरेका पात्रहरुलाई ल्याउने कुरा, अख्तियारको जानकारीपछि फेरि मन्त्रालय फिर्ता गर्ने, यी सबै घट्नाक्रमले माननीय गृहमन्त्रीज्यू पनि शंकाको दायरामा हुनुहुन्छ, त्यसकारण नैतिकताको आधारमा राजीनामा दिनुपर्छ र छानबिन समिति गठन गरेर अघि बढाउनुपर्छ भनिएको थियो ।’
सदनको अवरोध खुलाउनको लागि आफूहरुले २ बुँदे सहमति गरेकोबारे पनि उनले प्रष्ट पारे । उनले एक महिनाभित्र संसदीय छानबिन वा न्यायिक आयोग बनाउने भन्ने कुरा दुई बुँदेमा प्रष्ट लेखिएको पनि दाबी गरे । उनले गृहमन्त्रीको संलग्नताको बारेमा अनुसन्धान हुनुपर्ने माग गरे । तर, अनुसन्धान हुन नदिनको लागि छानबिन समिति नबनाउने भन्ने कांग्रेस र एमाले अदालत हो र ? भन्दै उनले प्रश्न गरे । उनले भने,‘अनुसन्धान नगरिकन निर्दोष हुनुहुन्छ भनेर भन्नुको अर्थ के हो भने दोषी हुनुहुन्छ भन्ने अर्थ लाग्दैन र ?’ सरकार भिजिट भिसा प्रकरणबाट ब्याक भयो भने आफूहरुसँग आन्दोलनबाहेक अर्को कुनै विकल्प नहुने पनि दाहालको चेतावनी छ ।




प्रतिक्रिया