विपद्को गम्भीरता र संवेदनशीलतालाई बुझेर युद्धस्तरमा काम गर्न प्रचण्डको आग्रह


काठमाडौं, ६ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल प्राकृतिक विपदको ठूलो खतरामा रहेको बताएका छन् । आज (शुक्रबार) पार्टीको विपद्‌ व्यवस्थापन केन्द्रीय विभागको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद व्यवस्थापनका लागि सबै सरकारी, गैर सरकारी, राजनीतिक दल, भातृ संगठन र सबै संघ÷संस्थाहरु क्रियाशील हुनुपर्ने अवस्था रहेको बताएका हुन् । अहिले नेपालमा विपद नआउँदासम्म तयारीमा ध्यान नदिने र विपद आइसकेपछि तयारी नपुग्ने अवस्था रहेको बताए ।

‘विपद नआउँदासम्म त्यसको तयारीमा ध्यान त्यती नदिने र आइसकेपछि तयारी नपुग्ने र ठूलो क्षतिको सामना गर्नुपर्ने अवस्था छ । हामीले आवश्यक ऐन कानुन, अन्य प्राविधिक तयारी सबै क्षेत्रमा गर्नुपर्ने अवस्था छ,’– उनले भने, ‘सबैले यसको गम्भीरता र संवेदनशीलतालाई बुझेर युद्धस्तरमा लाग्नुहुनेछ भन्ने अपिल र निर्देशन गर्न चाहन्छु ।’

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा जाजरकोटमा गएको भूकम्पमा युद्धस्तरमा उद्दार र राहतको काम गरिएको उनले बताए । प्रचण्डले भने, ‘जाजरकोट केन्द्रविन्दु भएको भूकम्प आउँदा प्रधानमन्त्रीको हैसियतले युद्धस्तरमा लिएको पहलका कारणले नेपालमा भएका सबै मन्त्रालय, सबै संघ संस्थाहरु, सुरक्षा निकायका चारवटै अंगहरु प्रत्यक्ष रुपले परिचालित हुन पुगेको थियो । प्रधानमन्त्री आफैं अगाडि सरिसकेपछि अरु सबैले विधि, विधान प्रक्रिया हेरिराख्नु नपर्ने, प्रधानमन्त्रीअन्तर्गत स्वतः परिचालित हुन कसैलाई पनि अप्ठ्यारो नपर्ने भएको हुनाले त्यतिबेला हामीले उद्दार र राहतको कार्यमा साच्चै नै युद्धस्तरको पहल लिन सकिएको थियो ।’