काठमाडौं, ६ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले नौ महिना बितिसक्दा पनि सरकारले बीपी राजमार्ग निर्माणको काममा चासो नदेखाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले बिग्रिएको नौ महिना बितिसक्दा पनि बीपी राजमार्ग नबन्नुमा भौतिक पूर्वाधारमन्त्री दोषी रहेको बताए । उनले बीपी राजमार्गमा कुनै मानवीय क्षति भएको खण्डमा मन्त्रालयमै लिएर आउनेसमेत चेतावनी दिए । दैनिक २० हजार मानिस आवतजावत गर्ने सो राजमार्ग नबनेको भन्दै उनले आपत्ति जनाए ।
‘त्यहाँ दिनमा २० हजार यताबाट जान्छन्, २० हजार मान्छे पूर्वबाट आउँछन् । त्यहाँ भोलि ब्लक भयो, क्षति भयो, मान्छे मर्यो भने कसले जिम्मेवारी लिने ? भौतिक मन्त्रीले जिम्मेवारी लिनुपर्छ । तपाईँ के हेरेर बस्नुभयो नौ महिनासम्म त्यो बाटो नबनाएर ? को थियो त तपाईँभन्दा ठूलो मन्त्री कोही थियो ? तपाईँ कहाँ जानुभएको थियो ? बीपी हाइवेयमा कुनै जनताको क्षति भयो भने तपाईँको मन्त्रालयमा ल्याउँछु । तपाईँले त्यतिखेर कति व्यहोर्नुपर्छ ? मन्त्रीज्यू तपाईँको ठूलो कमीकमजोरी भएको छ,’– उनले भने ।
उनले भौतिक मन्त्रीमा अनुभव कमी देखिएको टिप्पणी गरे । ‘तपाईँलाई त राम्रो अनुभव होला जस्तो लागेको थियो । तपाईँलाई प्रदेशको माननीयले भोट हालेको, गाउँपालिका अध्यक्ष उपाध्यक्षले भोट हालेको, मेयर, उपमेयरले भोट हालेको । हामीजस्तो जनताले भोट हालेर आएको हामी पनि माननीय हौं,’– उनले भने ।
गत असोजमा गएको बाढीको कारण बिपी राजमार्गअन्तर्गत विभिन्न ठाउँमा सडक भत्किएको छ । भत्किएको ९ महिना बितिसक्दा पनि कुनै वैकल्पिक उपाय अपनाइएको छैन । वर्षा याममा उक्त सडक चलाउन सकिने अवस्था एकदमै न्यून छ ।
प्रतिक्रिया