भैरहवा कारागारबाट रवि लामिछानेले भने–मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन्


काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको बताएका छन् । कारागारबाट आज पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा एक सन्देश प्रवाह गर्ने क्रममा लामिछानेले यस्तो बताएका हुन् ।

अपिलमार्फत उनले भनेका छन्–‘मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन् । २०४६ सालपछिका छत्तीस वर्षमा यिनीहरुले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन्, आज संसारले देखेको छ । यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ छैन । राज्य यिनको, अड–अदालत यिनको मिडियासमेत यिनकै । राज्यका सारा अंग र संरचना यिनकै भर्तीकेन्द्र । घरिघरि लाग्छ, यिनीहरुले मलाई धेरै दुःख दिए । तर, विचार गर्दै जाँदा गएका छत्तीस वर्षमा यिनीहरुले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन । यिनीहरुले मलाई जेल हाले भनेर के दुखमनाउ गर्नु, जब यिनीहरुले सिंगो देशलाई नै जेल बनाईसके ।’

लामिछानेले आफूले कहिल्यैपनि कुनै दिन राजनीतिमा आउनेबारे नसोचेको स्मरण गराएका छन् । राजनीतिमा आउने निर्णय गरेपछि पनि धेरै स्थापित व्यक्तिलाई आफूले नेतृत्व गरिदिन आग्रह गरेको भन्दै सन्दुक रुइत, कुलमान घिसिङ, राजेश हमालदेखि अनिलकेसरी शाहसम्मको नाम लिएका छन् । तर, कसैले पनि विश्वास नगरेपछि मात्रै आँफै सभापति भएर पार्टी दर्ता गरेको लामिछानेले दाबी गरेका छन् ।