गृहमन्त्रीलाई राजीनामा दिन हुँदैन भन्ने र रास्वपालाई आन्दोलन छोड्न हुँदैन भन्ने केपी ओलीः माओवादी नेता दोङ


काठमाडौं, ७ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सूर्यमान दोङले प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन हुँदैन भनेको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आन्दोलन पनि छाड्न हुँदैन भनेर दोहोरो भूमिका खेलेको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्रीको दोहोरो भूमिकाको तथ्य आफूसँग रहेको बताए । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर लामो समयदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

‘गृहमन्त्रीलाई राजीनामा दिन हुँदैन भन्ने पनि अहिलेका प्रधानमन्त्री केपी ओली हो । उता रास्वपाका साथीहरुलाई आन्दोलन छोड्न हुँदैन भन्ने पनि केपी ओली हो । अरु होइन, तथ्यहरुले त्यसो भन्छ, कुनै दिन आवस्यक पर्यो भने तथ्यहरु भनौंला, यो प्रधानमन्त्रीको आफ्नै इसारामा छ,’– उनले भने ।

नेता दोङले प्रतिपक्षी दल रास्वपा र राप्रपाको आन्दोलन सही रहेको बताए । गृहमन्त्री लेखकले कुनै बेला नैतिकताको प्रश्न उठाउने गरेको बताउँदै उनले रमेश लेखकजतिको मान्छेले प्रश्न उठेपछि मार्ग प्रशस्त गर्दा नै राम्रो हुने बताए । उनले भने, ‘अध्यागमन विभागमा भएका जुनखालको गतिविधि र भ्रष्टाचार छ, मानव तस्करीजस्तो जघन्य खालका मुद्दाहरु बजारमा आइरहेका छन् । गृहमन्त्रीको राजीनामाको चर्चा चलिरहेका छन् । यो बेलामा गृहमन्त्रीको जिम्मेवारीमा भएको हैसियतले उहाँको नाममा जो चर्चा आएको छ, यो स्वभाविक छ । उहाँहरुले उठाएको आन्दोलन पनि स्वभाविक छ । तर, सदैव आन्दोलनको एउटै रुप र कलर हुँदैन । गृहमन्त्रीले हिजो उहाँले नै उठाएको नैतिकताको प्रश्न छ, त्यो उहाँको कुरा हो । रमेश लेखकजतिको मान्छेले प्रश्न उठेपछि राजीनामा दिने कि नदिने उहाँको कुरा हो ।’

साथै, माओवादी आन्दोलनबाट ब्याक हुनुको मुख्य कारण बजेटमाथिको बहस, निजामती विधेयक, विद्यालय शिक्षा विधेकय, नागरिकता विधेयक लगाका कुरा रहेको उनले बताए । अहिले देशको अर्थतन्त्र जटिल बनिरहेको अवस्थामा बजेटमाथि छलफल गर्नुपर्ने आवश्यकता आफूहरुले महशुस गरेको उनले बताए ।

साथै, सरकारले निजामती विधेयकलाई विवादित पार्न खोजेको उनले बताए । शिक्षा विधेयक, भूमि विधेयक, नागरिकता विधेयक सदनमा रोकिएर बसेको अवस्थामा आफूहरु सदन खोल्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको उनले बताए । File Photo/RN