भिजिट भिसा प्रकरणमा जनताको मुद्दा बोलिरहेका छौं, तर सरकार सुन्न तयार भएनः सुमना श्रेष्ठ


काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले सरकारले जनताको आवाज सुन्नै नचाहेको बताएकी छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैै उनले भिजिट भिसा प्रकरणमा आफूहरुले जनताको आवाज उठाउँदै आउँदा सरकार सुन्न तयार नभएको बताएकी हुन् । उनले सरकारले यति ठूलो मुद्दामा संसदीय छानविन समिति बनाउने वा उच्चस्तरीय आयोग बनाउनेबारेमा कहीँकतै प्रतिवद्धता व्यक्त नगरेको उनले बताईन् ।

‘यो सदनमा हामीले यतिका दिनसम्म एउटै माग, जनताको माग राखेर हामी उभिइरहेका छौं । तर, अहिलेसम्म पनि सरकारले न त संसदीय छानविन समिति, न त उच्चस्तरीय छानविन आयोग बनाउँछौं भनेर कहीँ कतै पनि जनताको आवाजको सुनुवाइ गरेको छैन । सदनमा जनताको आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने ? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन, जनताको आवाज यहाँ सुनुवाइ हुन्छ, यहाँ सरकारले सुन्छ भनेर, सरकार कसको लागि ? दुर्वलको लागि कि शक्ति भएकाहरुको लागि ?’ प्रश्न गर्दै उनले भनिन् ।

नेतृ श्रेष्ठले युवाहरु एक करोड तिरेर एक वर्ष लाग्ने बाटोबाट किन अमेरिका जान चाहन्छन् भन्नेबारेमा सरकार छानविन गर्न तयार हुनुपर्ने बताईन् । उनले खाँडी मुलुकमा घरासयी काममा र रसियामा भिजिट भिसामै युवाहरु गइरहेको बताईन् । उनले भनिन्, ‘हाम्रा युवा एक करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन्, एक वर्षको जर्नी लगाएर । किन ? त्यसमा छानविन गर्न पर्दैन ? पोलिसी रिफर्म के–के गर्ने सोच्नुपर्दैन ? जाने माध्यम के हो ? भिजिट भिसा । रसियामा कसरी गएको छ ? भिजिट भिसामा । खाँडी मुलुकमा, कुबेतमा डोमेष्टिक वर्कमा कसरी गएका छन् ? भिजिट भिसामा । आफ्नै अगाडि आफ्नो मोल राखेर मालिकले किनबेच गरिराखेको छ । त्यसको विरुद्ध होइन हामीहरु ? के–को हिसाबले हामी सभ्य समाजमा छौं भन्ने ? अहिले आफू पावरमा छु भनेर जनताको यति ठूलो मुद्दाको समाधान नखोजी सरकार बसिराखेको छ ।’