काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता तथा सांसद सन्तोष परियारले भिजिट भिसा प्रकरणमा माओवादीले साथ छोडेको भन्दै आलोचना गरेका छन् । उनले भिजिट भिसा प्रकरणमा रास्वपा नझुक्ने दाबी गरे । रास्वपाको स्थापना दिवसको अवसरमा आज (शनिबार) माइतीघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भिजिट भिसा प्रकरणमा माओवादी र रास्वपा एकसाथ उभिएका थिए । तर, माओवादीले सत्तापक्षसँग २ बुँदे सहमति गरेर सदनको अवरोध खोलेपछि रास्वपा एक्लै परेको थियो । यद्धपी यो मुद्दामा संसद्को पाँचौ ठूलो दल राप्रपा पनि रास्वपाकै साथमा छ । माओवादीले भिजिट भिसा प्रकरण छोडेको विषयमा आज रास्वपाबाट पहिलोपटक आलोचना भएको हो ।
परियारले भने,‘एउटै मुद्दामा एउटा राजनीति दल पनि हामी सँगैं थियो त्यसले पनि जनताको पक्षमा यो मुद्दालाई समात्छ होला। इतिहासमा बारबार चुके पनि नेपाली जनताको पक्षमा उभिन्छ भन्ने थियो। त्यसले हाम्रो साथ छोड्यो। हामी संख्यामा सानो होला तर रास्वपाको मात्रै मुद्दा होइन हरेक नेपालीको घरघरको मुद्दा हो। त्यसैले रास्वपाले छोड्दैन ।’ सो क्रममा उनले रास्वपा देशको नेतृत्व लिन तयार रहेको भन्दै बाटो छोडिदिन पूराना दललाई आग्रह गरेका छन्।
Photo Source: Rastriya Swatantra Party/Facebook




प्रतिक्रिया