रास्वपाको सरकार बनेको दिन भ्रष्टाचारीहरु ‘ओपन बोर्डर’ बाट भागाभाग गर्नेछन्ः कार्यवाहक सभापति अर्याल


काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेको दिन भ्रष्टाचारीहरु ओपन बोर्डरबाट भागाभाग गर्ने टिप्पणी गरेका छन् । आज (शनिबार) तेस्रो पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘एक दिन यस्तो दिन आउनेछ, उनीहरुलाई मैले त भन्ने गरेको थिएँ, यो देशमा कुनै बेला धेरै जेलहरु बनाउनुपर्ला । पछिल्लो समय लाग्यो, हामी त खुला बोर्डरमा छौं । जेल बनाउने पैसा नै बच्ने रहेछ । भ्रष्टाचारीहरु त ओपन बोर्डरबाट भागाभाग गर्नेरहेछन् जब हाम्रो उपस्थिति हुन्छ,’– उनले भने ।

नेता अर्यालाले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको दाबी गरे । लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको हो भन्ने कुरा रास्वपाका नेता र शुभचिन्तकले मात्रै नभएर विदेशीहरुले समेत भन्ने थालेको र उक्त कुरा स्थापितसमेत भइरहेको उनले बताए ।

‘रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको हो भन्ने कुरा अब रास्वपाका नेताहरुले, शुभचिन्तकहरुले भन्नुपर्दैैन । यो देशमा एउटा नयाँ नेता जन्मिएको थियो र त्यो नेतालाई अगाडि बढ्न दिइएन, स्ुशासन कायम गर्न दिइएन, भ्रष्टाचारको अन्त्य गर्ने जुन अभियान बोकेर हिँडेको थियो, त्यसलाई अगाडि बढ्न दिइएन भनेर संसारले भनिरहेको छ । नेपालको समृद्धिको लागि, नेपालको सुशासनको लागि, नेपालको हितको लागि सोचिरहेको नेपालीले मात्रै होइन, अब विदेशीले पनि चिनिसकेका छन्, बुझिसकेका छन्, रास्वपाका सभापतिमाथि राजनीतिक प्रतिशोध भएको कुरा स्थापित भएको छ,’– उनले भने ।