काठमाडौं, ७ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमले पार्टीको १५औं महाधिवेशनबाट शेखर कोइराला सभापति बन्ने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कोइराला परिवार एक भएर पार्टीको १५औं महाधिवेशनबाट शेखरलाई सभापति बनाउने बताएका हुन् ।
आफू कोइराला परिवारको सम्पर्कमै रहेको बताउँदै उनले भने, ‘अब बन्ने कांग्रेस सभापति शेखर कोइराला नै हो । कोइराला परिवार पनि एक ठाउँमा आउँछन् । विभिन्न चरणमा हामीसँग संवाद, कुराकानी, विचार, विमर्श भइराखेको छ ।’
नेता गौतमले महामन्त्री गगन थापा पनि शेखरकै समूहमा रहने दाबी गरे । उनले अरु थुप्रै नेताहरु शेखरको सम्पर्कमा रहेको बताए । अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि शेखरकै समूहमा रहने उनको दाबी छ ।
‘गगन–शेखर समूह पनि इन्ट्याक रहन्छ । अन्य साथीहरु हामीसँग जो लाइक मेन्डेड रहेको छ, धेरै साथीहरुसँग हामी सम्कर्पमा छौं । धेरै साथीहरु छन् । विश्वप्रकाश शर्माको पनि सम्पर्कमा छौं,’– उनले भने ।
नेता गौतमले शेखरका लागि सरकारभन्दा पनि पार्टी मुख्य कुरा रहेको बताए । आगामी १५औं महाधिवेशनबाट शेखर पार्टी सभापति र गगन प्रधानमन्त्री बन्ने संकेत गरे । नेता गौतमले भने, ‘सरकार भन्दा पार्टी मेजर हो । हाम्रो लागि पार्टी नै ठूलो कुरा हो । हामी पार्टी निर्माण गर्न चाहन्छौं र समग्र कांग्रेस निर्माण गर्न चाहन्छौं ।’
समग्र कांग्रेस निर्माण नगरेसम्म कांग्रेस कम्युनिष्टहरुको पछाडि लागिरहनुपर्ने उनले बताए ।




प्रतिक्रिया