नुवाकोटको साततले दरबार आज भत्काइँदै


नुवाकोट, असार ८ । दश वर्षअघि गएको विनासकारी ‘गोरखा भूकम्प’ले क्षति पुगेपछि पुनर्निर्माणको लागी नुवाकोटको साततले दरबार (दुर्गरत्न) आज भत्काउन लागिएको छ ।

चिनियाँ कम्पनी मार्फत पुनर्निर्माण भइरहेको दरबारको पुर्ननिर्माण अघिको पूर्व तयारीको प्राविधिक काम सम्पन्न भएकाले भत्काउन लागिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय नुवाकोटका प्रमुख सुनिल पाण्डेले जानकारी दिए । उनको अनुसार दिनको एक बजेदेखि दरबारको छाना हटाएर क्षतिग्रस्त भाग भत्काउन सुरु गरिने जानकारी चिनियाँ पक्षले यहाँका सरोकारवालाहरूलाई गराएका छन् ।

दरबार पुनर्निर्माणको क्रममा पुर्ननिर्माण, प्रबलीकरण के गर्ने भन्ने सम्बन्धमा दरबार भत्काउँदै गएपछि मात्र थाहा हुने जानकारी चिनियाँ पक्षले गराएको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए। अहिलेको प्राविधिक अध्ययन अनुसार दरबारको जग तहदेखि तेस्रो तलासम्मको संरचना सुरक्षित रहेको पाइएको छ । यद्यपि, दरबार भत्काउँदै जाने क्रममा गरिने प्राविधिक अध्ययन पश्चात् दरबारलाई पूरै भत्काइने अथवा क्षतिग्रस्त तलाहरू हटाएर सोही स्थानबाट निर्माण सुरु गरिने निर्णय लिइने नगरप्रमुख श्रेष्ठको भनाई छ ।

भूकम्पपछिको पुनर्निर्माणको क्रममा चिनियाँ सहयोग अन्तरगत चिनियाँ निर्माण कम्पनी ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ मार्फत नुवाकोटको साततले दरबार, तुलजा भवानीको मन्दिर सहित थप आठवटा संरचनाको पुनर्निर्माणको काम भइरहेको छ ।

पुर्ननिर्माण अन्तरगत भूकम्पले पूर्ण क्षति पु¥याएको तुलजा भवानीको मन्दिर ९तलेजु दरबार०को संरचना भने पूरै भत्काएर सकिएको छ । सोही स्थानमा अब पहिलाको जस्तै नयाँ निर्माण गर्न थालिएको छ ।

साततले दरबार र तुलजा भवानीको मन्दिरको निर्माण विसं २०८३ असोज भित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । बाँकी रहने थप धार्मिक, साँस्कृतिक एवं पुरातात्त्विक संरचनाको निर्माण त्यसपछि अघि बढाइने समझदारी भएको छ ।