जनता खुसी बनाएको छुः मुख्यमन्त्री शाह (भिडिओसहित)


काठमाडौं, ८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि समग्र सुदूरपश्चिम प्रदेशको लागि बजेट निर्माण गरेको बताएका छन् ।आफू र आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत बजेट निर्माण गरेको भन्ने आरोपको खण्डण गर्दै उनले समग्र सुदूरपश्चिम प्रदेशका जनताको लागि बजेट निर्माण गरेको बताएका हुन् । उनले आफूले जनतालाई खुसी बनाउने अधिकतम् प्रयास गरिरहेको बताए ।

‘जनता खुसी बनाउने प्रयत्नमा निरन्तर लागिराखेको छु । जनतामुखी बजेट बनाउने अधिकतम प्रयत्न र प्रयासरत थिएँ म, बनाएको पनि छु । यो भन्दैगर्दा कार्यकर्ताको कुरालाई जोड्नुहुन्छ भने स्वभाविक रुपमा हाम्रा जनप्रतिनिधिहरुको भूमिका रहन्छ नै । स्थानीय तह, संघ, प्रदेशका प्रतिनिधि साथीहरुको भूमिका रहन्छ । बजेट बनाउने र बन्ने नै जनताको लागि हो,’– उनले भने ।

निर्वाचित जनप्रतिनिधिको इच्छा र चाहनाअनुसार बजेट निर्माण भएको उनको भनाइ छ । जनताबाट निर्वाचित जनप्रतिनिधिको भावनालाई अधिकतम् प्रयास गरेर बजेट निर्माण गरेको उनले बताए । आफूले यसअघि दुई चरणको बजेट निर्माण गरिसकेकाले यसपालीको बजेटमा सबैलाई समेटेर लाने प्रयत्न गरिएको उनले बताए । मुख्यमन्त्री शाहले प्रदेशका सबै पालिकामा बजेट र योजना पुगेको बताए ।