काठमाडौं, ८ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले भिजिट भिसा प्रकरणलाई मानव तस्करी मान्न नसकिने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पासपोर्ट, भिसा र दस्तुर तिरेर एयरपोर्टबाट गन्तब्यमा पुगेको र परिवारको सम्पर्कमा रहेको कुरालाई मानव तस्करी मान्न नसकिने बताएका हुन् । उनले रास्वपाले नेपाल मानव तस्करीको देश हो भनेर संसारभरी अफवाह फैलाउन खोजेको उनको आरोप छ । रास्वपाका नेताहरु प्रायःको घरजम विदेशमा रहेको बताउँदै नेता बिडारीले उनीहरुलाई यो देश बिग्रेकोमा कुनै चिन्ता नरहेको बताए । यस्तै हो भने रास्वपा आफैं सिध्दने उनको दाबी छ । रास्वपालाई अरु कसैले सिध्याउन नपर्ने उनले बताए ।
‘अब नेपाललाई उसले मानव तस्करीमा दर्ता गराउन खोज्यो अन्तर्राष्ट्रिय जगतमा । निलो स्कार्फ लगाएर संसारमा हाम्रो देश मानव तस्करीको देश हो भनेर प्रचार गर्यो । उसले त्यो जागिर नै खायो । उनीहरुलाई त यो देश बिग्रियो भने विदेशमा घरजम छ । कसैको जर्मनमा छ, कसैको अमेरिकामा छ, कसैको बेलायतमा अथवा विभिन्न देशमा छ । जानसक्ने हैसियतका छन् । यो देश सप्रे पनि, बिग्रे पनि यही देशमा बस्नुपर्ने मान्छेको लागि नेपाललाई ब्ल्याक लिस्टमा राख्नको निम्ति नचाहिँदो अफवाह फैलाउने ? मानव तस्करी भनेको एयरपोर्टबाट, पासपोर्ट, भिसा, दस्तुर तिरेर गन्तव्यको ठाउँमा पुगेर बस्छ भने त्यो मानव तस्करी हुन्छ ? ती मान्छेहरु यति पनि बुझ्दैनन् । यो भ्रष्टाचार भयो, अध्यागमनमा भ्रष्टाचार भयो भनेर पो भन्नुपर्यो त,’– नेता बिडारीले भने ।
उनले मानव तस्करी अत्यन्त सिरियस क्राइम रहेको बताए । मानव तस्करी हुने देश ठहरिएको खण्डमा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सम्झौताको कारण निकै अप्ठ्यारो स्थिति आउने उनको भनाइ छ । मानव तस्करी भनेको बुझ्दै नबुझी रास्वपाका नेताहरुले मान्छे उचाल्ने काम गरेको उनको दाबी छ । उनले एयरपोर्ट र अध्यागमनमा हुने यस्ता प्रकारका गतिविधि मानव तस्करी नभएर भ्रष्टाचारजन्य कार्य रहेको बताए ।
रास्वपालाई उनले भ्रष्टाचारी ठहरिएको खण्डमा आजीवन सार्वजनिक पदमा बस्न नपाउने प्रस्ताव ल्याउन सुझाव दिए । त्यस्ता भ्रष्टाचारीहरुको अंशियारसहितको सम्पत्ति जफत हुने कानुन बनाउन पहल गर्न उनले बताए । उनले रास्वपालाई बचकना पार्टीको संज्ञा दिए ।
प्रतिक्रिया