प्रचण्डलाई बिडारीको सुझावः रवि लामिछाने कहिल्यै तपाईंको मान्छे हुन सक्दैन, पक्षमा नबोल्नुस्


काठमाडौं, ८ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छेहरुले नैतिकताको कुरा गर्न नसुुहाउने टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाले गृहमन्त्री रमेश लेखकलाई नैतिकता सिकाउने र राजीनामा माग्ने हैसियत नराख्ने धारणा व्यक्त गरको हुन् । उनले रास्वपालाई गृहमन्त्री लेखकले कुन संविधान वा कानुनअनुसार राजीनामा दिनुपर्ने हो ? भनी प्रश्नसमेत गरे ।

‘रमेश लेखकले कुन कानुनअनुसार राजीनामा दिनुपर्ने ? त्यो कानुन देखाउन सक्छ रास्वपाले ? ल देखाओस् त एउटा दफा । कुन कानुन ? कुन संविधान ? राजीनामा दिनुपर्ने उसले ? नैतिकताको कुरा गर्छन् । रवि लामिछानेको नैतिकताको कुरा गर्ने ? रवि लामिछानेको पार्टीले नैतिकताको कुरा गर्ने ? रमेश लेखकको भन्दा पनि मैले संविधान र काुननको कुरा गरेको हो । संसद् अवरुद्ध गर्न हुँदैन, राजीनामा पनि हाम्रो पार्टीले माग गरेन,’– उनले भने ।

नेता बिडारीले आफूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ‘रवि लामिछाने कहिल्यै तपाईँको मान्छे हुन सक्दैन, पक्षमा नबोल्नुस्’ भनेर पटक–पटक सुझाव दिएको पनि उनले सुनाए । ‘मैले प्रचण्डलाई पटक–पटक भनिसकेँ– तपाईँ त्यो रवि लामिछाने भन्नेको पक्षमा किन बोलेको ? त्यो मान्छे जिन्दगीमा कहिल्यै तपाईँको मान्छे हुँदैन । प्रचण्ड अथवा हाम्रो पार्टीको समर्थन त्यो हुन सक्दैन । त्यो त बडो सुनियोजित पूर्वक आएको चरित्रहीन मान्छे रहेछ भन्ने कुरा त देखिएन ?’ प्रश्न गर्दै उनले भने ।