अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्सको क्षमता १० प्रतिशतमात्रै हुँदा भाडादरमा दबाव दिन सकिएनः मन्त्री पाण्डे


काठमाडौं, ८ असार । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल एयरलाइन्सको क्षमता बढाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्सको क्षमता १० प्रतिशतमात्रै हुँदा भाडादरमा दवाब दिन नसकिएको मन्त्री पाण्डेले बताए । अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्सको क्षमता ५० प्रतिशतसम्म पुर्याउन सकिएको खण्डमा भाडादरमा दवाब दिन सकिने उनले बताए । उनले जहाज किन्दा पनि आर्थिक पारदर्शिताको प्रश्न आउने गरेको स्मरण गराए । हरेक जहाज किन्दाखेरी काण्ड जोडिएको आउने गरेको भन्दै उनले लिजमा लिनेतर्फ पनि सोचिएको बताए ।

‘नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय यात्रु ल्याउने र लैजाने क्षमता भनेको जम्मा १० प्रतिशतमात्रै क्षमता राख्दोरहेछ । ९० प्रतिशत चाहिँ उनीहरुले उडाउँदारहेछन् । यसको प्रतिशत बढेर २५, ३०, ५० प्रतिशत हाम्रो नेपाल एयरलाइन्सको क्षमता पुगेको भएदेखि नेपाल एयरलाईन्सले एउटा भाडादर कायम गर्दियो भने अरु त्यो भाडादरमा उडाउन उनीहरुलाई दवाब पर्दोरहेछ । हामीसँग १० प्रतिशतको मात्रै क्षमता भएपछि हामीले घटाउनु र बढाउनुले उनीहरु ९० प्रतिशतलाई चेक एण्ड ब्यालेन्स गर्न हामी सक्दारहेनछौं । त्यसकारण नेपाल एयरलाइन्सको क्षमता नबढाइकन नहुने जस्तो देखियो,’– उनले भने ।

साथै, पर्यटन व्यवसायीहरुले लामो समयदेखि टिकटको भ्याट घटाइदिन आग्रह गर्दै आएको उनले बताए । टिकटको भ्याट घटेपछि मूल्य घट्ने र पर्यटकहरु बढी आउने पर्यटन व्यवसायीहरुको भनाइ रहेको र आफूहरुले अर्थ मन्त्रालयसँग धेरै पटक लविङ गर्दा सम्भव छैन भनिएको उनले सुनाए । ‘८/९ अर्ब टिकटको भ्याटबाट राजश्व उठ्छ भन्ने उहाँहरुको मूल्याङ्कन रहेछ,’– उनले भने ।