काठमाडौं, ८ असार । नेकपा एमालेका तत्कालीन महासचिव जनताको वहुदलीय जनवाद (जबज) का भाष्यकार जननेता मदनकुमार भण्डारीको हीरक जयन्ती मनाउन केन्द्रीयस्तरबाटै समिति बन्ने भएको छ । आगामी असार १४ गते राजधानीको राष्टिय सभागृहमा हुने हीरक समिति घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी ओली प्रमुख अतिथि र पूर्व राष्ट्रपति तथा जननेता भण्डारीका पत्नी विद्या भण्डारी विशेष अतिथि रहने छन् ।
मदन भण्डारी फाउण्डेशनले भण्डारीको हीरक जयन्ती–२०८३ मनाउन नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा दुई सय सदस्यीय मूल समिति गठनको तयारी गरेको छ । वि.सं. २०१० असार १४ गते जन्मिएका भण्डारीको ७४ पुगेर ७५ वर्ष लाग्ने दिन पारेर मदन जयन्तीकै दिन सो समिति घोषणा हुन लागेको हो । असार १४ गते मदन जयन्तीको अवसरमा एमाले र फाउन्डेशनले विभिन्न कार्यक्रम गर्दै आएका छन् । यस वर्ष हीरक जयन्ती मनाउनेगरी विशेष कार्यक्रम आयोजना गर्ने तयारी छ ।
फाउण्डेशनले असार १४ गते आयोजना गर्ने कार्यक्रममा प्रम तथा एमाले अध्यक्ष ओलीबाट मूल समिति घोषणा गरिनेछ । गत साता पूर्व राष्ट्रपति तथा फाउण्डेशनका संरक्षक विद्या भण्डारी र प्रम ओलीबीचको भेटमा सो विषयमा समेत छलफल भएको बताइएको छ ।
भण्डारीकै चाहना र आग्रहमा ईश्वर पोखरेललाई संयोजक बनाउन लागिएको फाउण्डेशन स्रोतले बतायो । फाउण्डेशनकै ब्यानरमा पूर्व राष्ट्रपति भण्डारीको देशव्यापी दौडाहा र कार्यकर्ता भेटघाट पनि चलिरहेको र यसलाई अझ व्यापक बनाउने तयारी पनि छ ।
एमालेका धेरैजसो नेताले ओलीकै प्रस्ताव र ओलीसँगकै समन्वयमा विद्या भण्डारी एमालेको नेतृत्व गर्नेगरी दलीय–संगठनमा सक्रिय हुनु उपयुक्त हुने सुझाव दिइरहेका बेला गत साता दुई नेताबीच बालुवाटारमा छलफल भएको थियो । यो संवाद फेरि गर्नेगरी टुंगिएको केही नेताको भनाइ छ ।
भण्डारीले अध्यक्ष ओलीसँग निर्णायक संवाद गरेर आफू देशव्यापी अभियानमा अघि बढ्ने ती नेताको दावी छ । मदन भण्डारीको हीरक जयन्ती मूल समिति गठनपछि यसले दुई वर्षसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने र ती कार्यक्रममार्फत विद्या भण्डारीले कार्यकर्ता तथा सर्वसाधारणसँगको भेट अघि बढाउने दावीसमेत केही नेताको छ ।
गत असोज ५ गते फाउण्डेशनको केन्द्रद्वारा काठमाडौंमा आयोजित स्थापना दिवसमा फाउण्डेशनका संस्थापक भण्डारीले आगामी वि.सं.२०८२ सालमा जननेताको हीरक जयन्ती मनाउन आह्वान गरेकी थिइन् ।
माक्र्सवादको सिर्जनात्मक प्रयोगमार्फत कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण गर्ने जननेता भण्डारीको २०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा निधन भएको थियो । विश्वमै कम्युनिस्ट शासन र कम्युनिस्ट सिद्धान्तबाट अनुप्राणित दलहरू धराशायी भएका बेला नेपालमा जबजमार्फत भण्डारीले गरेको प्रतिस्पर्धात्मक राजनीतिले विश्वमै चर्चा पाएको थियो ।
प्रतिक्रिया