मलाई अर्को जुनीको विश्वास छैन, भ्रष्टचारीजस्तो पापीलाई यही जुनीमा सजाय दिनुपर्छः सुदन किराती


काठमाडौं, ९ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले भ्रष्टाचारीमाथि सजाय हुनैपर्ने बताएका छन् । पशुपतिमा शवदाह मेसिन खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जना र दुई कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिसकेको छ । सोही प्रकरणबारे आफ्नो धारणा राख्दै उनले आफूलाई अर्को जुनीको विश्वास नरहेको र भ्रष्टाचारीमाथि यही जुनीमा सजाय हुनुपर्ने बताएका हुन् ।

साथै, अख्तियारको अनुसन्धानबाट त्यो मुद्दामा आफू संलग्न नरहेको पुष्टि भइसकेको उनले बताएका छन् । अख्तियारबाटै संलग्नता नरहेको पुष्टि भइसकेको विषयलाई सामाजिक सञ्जालमा राखेर बदनाम गर्ने काम भइरहेको उनले बताएका छन् । उनले यस्ता प्रकारका मान्छे देख्दा आफूलाई दया लागेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः
पशुपतिको विषयमा अख्तियारको अनुसन्धानबाटै म निर्दोष छु भन्ने कुरा प्रमाणीत भइसक्यो । अझै पनि सामाजिक संजालहरुमा मेरो फोटो टाँसेर मलाई बदनाम गर्न खोज्नेहरुप्रति दया लाग्छ । मेरो केही प्रश्न यो विषयमा सामान्य चर्चा सुन्न साथ मैले तत्कालिन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमक्ष निवेदन हाली छानविनको माग गरेको तपाईहरुलाई थाहा छ ? उक्त विषयमा अनुसन्धान हुँदा सहयोग गर्नु मेरो कर्तव्य होइन ?

नेपालको कानुनमा भ्रष्टाचार सम्बन्धी उजुरी हाल्ने अधिकार सबैलाई छ । यति सम्म कि, बेनामे पनि लाग्छ । सुदन किरातीलाई पनि उजुरी कसैले लगायो त्यो कुन ठूलो कुरा भयो ? सुदन किरातीलाई मात्र होइन उजुरी वडा अध्यक्षदेखी पूर्व प्रधानमन्त्रीहरुसहित लाखौं मान्छेलाई लागेको छ र यस्तो विषयमा सम्बन्धित निकायले जानकारी लिनु र सहयोग माग्नु सामान्य प्रक्रिया होइन र ?

कसैले अख्तियारको दुरपयोग गरी कानुन विपरित काम गर्छ भने सजायको भागिदार बन्नैपर्छ । भ्रष्टाचार देशको शत्रु हो, म स्पष्ट छु । अर्को जुनीको मलाई विश्वास छैन । भ्रष्टचारी जस्तो पापीलाई यही जुनीमा सजाय दिनुपर्छ भन्नेमा म दृढ छु र सँधै रहि रहनेछु । File Photo/RN