लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १०.३६ ग्रामसहित ३ जना पक्राउ


काठमाडौं, ९ असार । लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १०.३६ ग्रामसहित ३ जना पक्राउ परेका छन् । काठमाडौंको
तारकेश्वर नगरपालिका–४, लोलाङ हाईटस्थित एक घरको डेराकोठामा लागुऔषध खैरो हेरोइनको बिक्री वितरण भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ नेत्रावती गाउँपालिका–२ स्थायी ठेगाना भएकी २९ वर्षीय सरिका तामाङ गुरुङ, काठमाडौं महानगरपालिका–१७ का ३८ वर्षीय सन्दिप शाही र बर्दिया ठाकुरबाबा नगरपालिका–९ का ४८ वर्षीय सन्तोष कुमार रहेका छन् ।
उनीहरुविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उनीहरुबाट लागु औषध खैरो हेरोइनजस्तो देखीने पदार्थ १०.३६ ग्राम, एक लाख ७४ हजार नगद, स्कुटर १ थान, मोटरसाइकल एक थान प्रहरीले बरामद गरेको छ ।