आम नागरिकलाई सरकार जहाँ भेट्यो त्यही रिस उठ्छः महामन्त्री थापा


काठमाडौं, ९ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लाइन बस्ने कुरामा नागरिकको सबैभन्दा ठूलो आक्रोश रहेको बताएका छन् । आज (सोमबार) आयोजित ‘नेपालमा पर्यटनको सम्भावना बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाइसेन्स, राहदानीलगातका सेवाका लाइन हटाउनेतर्फ सोच्नुपर्ने बताएका हुन् ।

अहिलेका मान्छेहरुलाई सरकार जहाँ देख्यो त्यही रिस उठ्ने प्रवृत्ति देखिएको उनले बताए । अब आइटीको प्रयोग गरेर सकभर राज्यसँग नागरिकको फिजिकल भेट नहुने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

‘अहिले लाइसेन्स लिन पनि लाइन बस्नुपर्छ, पासपोर्ट लिन पनि लाइन बस्नुपर्छ । कि नेपालमा लाइन बस्नुपर्छ, कि मान्छे चिनेको हुनुपर्छ । आम मान्छेलाई अहिले सरकारसँग सबैभन्दा झोँक चल्ने कुरा भनेकै लाइन बस्नेसँग छ । सरकारसँग जहाँ भेट्यो त्यहाँ रिस उठिहल्छ । जहाँ राज्यसँग भेट भयो, त्यहाँ रिस उठ्छ भने त्यसको सोलुसन के हो त भन्दा सकेसम्म राज्यसँग भेट हुन नपर्ने वातावरण बनाउने हो । यदि भेट भइहाल्यो भने पनि फिजिकल्ली भेट हुन नपर्ने बताउने हो,’– उनले भने ।