डोनाल्ड ट्रम्पले इरानमाथि अत्यन्त क्रुर र फासिस्ट आक्रमण गरेः झलनाथ खनाल


काठमाडौं, ९ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी उक्साहटमा इजरायली विस्तारवादीहरुले इरानमाथि हिंसक हमला गर्दै आइरहेको बताएका छन् । आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अत्यन्त क्रुर र फासिस्ट आक्रमण गरेको पनि उल्लेख गरेका छन् । अमेरिकाले संयुक्त राष्ट्रसंघको बडापत्रको समेत उल्लङ्घन गरेको पूर्वप्रधानमन्त्री खनालले उल्लेख गरेका छन् ।

‘केही दिन अघिदेखि इजरायली विस्तारवादीहरुले अमेरिकी उक्साहटकै आधारमा इरानमाथि हिंसक हमला गर्दै आइरहेका थिए । इरानी जनता त्यसको प्रतिरोध गर्दै आइरहेका थिए । यसै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धुरा पसेर इरानमाथि अत्यन्त क्रुर र फासिस्ट आक्रमण गरेका छन् र इरानले नवनिर्माण गर्दै गरेको तीनवटा आणविक केन्द्रहरुलाई ध्वस्त पारेको दाबी गरेका छन् । अमेरिकाले २०२५ जुन २१ मा गरेको यो नाङ्गो आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्रलाई समेत उल्लंघन गरेको छ,’– विज्ञप्तिमा उनले भनेका छन् ।

सम्मानित नेता खनालले देश देश बीचको सामान्य अन्तर्राष्ट्रिय सम्बन्धको नियमहरुलाई पनि उल्लंघन गरेर अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वमा जङ्गली राजको नमुना प्रदर्शन गरेको बताएका छन् । अमेरिकाले आफ्नै देशका नियम, कानुन र प्रचलनलाई समेत उल्लंघन गरेको र विश्व शान्ति र मध्यपूर्वको शान्तिका विरुद्ध गम्भीर खतरा उपस्थित गरेको नेता खनालको ठहर छ । यसलाई उनले ‘फासिस्ट आक्रमण’ को संज्ञा दिँदै कडा शब्दमा निन्दा र भत्सना योग्य रहेको बताएका छन् ।

‘हामी सम्पूर्ण नेपाली जनता अमेरिका र इजरायलका आक्रमणकारी गतिविधिको विरोध र भत्सर्ना गछौं इरानी जनता, अरबी जनता र इस्लामिक जनताको प्रतिरोध संघर्षलाई दृढ समर्थन गछौं । मध्यपूर्वमा दिगो शान्ति स्थापनाका निम्ति संयुक्त राष्ट्रसंघ र विश्व जनताले गरिरहेका प्रयत्नहरुलाई समेत जोडदार समर्थन गर्दछौं,’– उनले भनेका छन् ।

युद्ध विस्तार हुँदै जाँदा अरब देशमा रहेका लाखौं नेपाली श्रमिकहरुको जीवन अस्त व्यस्त हुनसक्ने पनि उनको आँकलन रहेको छ । उनीहरुको संरक्षण र उद्धार गर्नका निम्ति तम्तयार रहन म नेपाल सरकारको उनले ध्यानकर्षण गराएका छन् ।