काठमाडांैं, ९ असार । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापानमा रहेको नेपाली राजदूतावास कुखुराको खोरभन्दा पनि सानो रहेको र सेवा प्रवाहमा समस्या भएको टिप्पणी गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गतको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो धारणा राखेकी हुन् ।
नेपाल चिनाउने राजदूतावासहरूको पुनर्संरचना र स्थानान्तरण गर्नुपर्ने मन्त्री राणाको भनाई छ । जापानमा रहेको दूतावास एकदमै सानो रहेको र काठमाडौंको वडा कार्यालयभन्दापनि सानो रहेको र कार्यसम्पादनमा कठिनाई भोग्नुपरेको दृष्टान्त पेश गरिन् ।
उनले भनिन्,‘सबैले यहाँ दुःखसुखका कहानी भनेको भएर मलाई पनि दुःखको कहानी बाँड्न मन लाग्यो । हाम्रा राजदूतावासहरू वडा कार्यालयभन्दा राम्रो स्थितिमा छैनन् । यो एकदमै दुःखको कुरा हो, अस्ति जापानको दूतावासमा गएँ । पहिला पनि जान्थे, त्यो बेलामा आमाको छोरी भएर गएको थिए । यो पाली गएको त एकदमै डिप्रेस भएर आएँ । फाइलको चाङ कति छ भने मान्छे बस्ने ठाउँ पनि छैन । कुखुराको खोर भन्दा सानो राजदूतावास । ३ लाख ५० हजार नेपाली पुगिसक्यो, बस्ने ठाउँ पनि छैन । यो पालि हामीले सर्ने भनेका छौं ।’
मन्त्री राणाकाअनुसार भारतको नयाँ दिल्ली र चीनको बेइजिङमा रहेका नेपाली दूतावासलाई मर्मत गर्ने भनेर पैसा हालिएको छ । तर, मन्त्रालयलाई पर्याप्त बजेटको व्यवस्था नभएको उनको गुनासो थियो ।




प्रतिक्रिया