काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । । जसपा नेपालका नेता एवं प्रतिनिधिसभा सदस्य प्रकाश अधिकारीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने सरकार गठन हुने बेला कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएको कारण सरकारबाट बाहिरिन लागेको बताए । उनले सरकारले संविधान संशोधनको कुरै नगरेको र सुशासन र समृद्धिको पक्षमा पनि काम नगरेको बताए ।
‘यो सरकार गठन हुँदाखेरी सात बुँदे संसद्मै पेश गरेको हो । त्यसलाई हेरेरै हामीले यो सरकारलाई समर्थन गरेका हौं । त्यसको मुख्य कुरा संविधान संशोधन, जुन हाम्रो पार्टीको पहिलादेखिको मुद्दा हो यो । यो संविधान पूर्ण छैन, सबैको अपनत्व ग्रहण गर्ने संविधान बनेको छैन । त्यसमा रहेको विमतीहरु हटाउँदै सबै नेपालीहरुको संविधान बनोस्, सबैले अपनत्व ग्रहण गर्न सकोस् भन्ने धारणाको साथ हामीले समर्थन गरेको हो,’– उनले भने ।
साथै, देशमा समृद्धि ल्याउने र सुशासन कायम गर्ने भनिएकोमा त्यो सवालमा पनि सरकार चुकिरहेको उनले बताए । सरकारको एक वर्षमा सुशासनको पक्षमा कुनै पाइला नचालिएको उनको दाबी छ । ‘न संविधान संशोधनको कुनै कुरा भएको छ, न सुशासन र समृद्धिको कुरामा कुनै प्रगति देखिएको छ । यसअर्थमा सरकारलाई समर्थन दिइरहनुपर्ने र सरकारले गरेको गल्तीहरु, जनविरोधी कामहरु, जनताको दैनिक जनजीवन झनझन कष्टकर हुँदै गइरहेको छ । ती कष्टकर कामहरुको पनि दोष किन लिइरहने भन्ने हामीमा प्रश्न उठेको छ । यो प्रश्नको निराकरण गर्नकै लागि सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ । कार्यकारिणी बेठकले संसदीय दललाई निर्देशन दिइसकेको छ । निर्देशन आएपछि हामी छलफल गरेर निर्णय लिन्छौं,’– उनले भने ।




प्रतिक्रिया