बजेट पारितअघि बालुवाटारमा सत्तापक्षका नेताहरूको भेटवार्ता, को-को सहभागी भए ?


काठमाडौं, १० आज । आज संसद्बाट बजेट पारित हुँदैछ । तर, त्यसअघि सत्तापक्षका नेताहरुको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनमा देखिएका असमझदारी हटाउने र एकरुपता कायम गरेर जाने विषयमा छलफल भएको बताईएको छ । यसका साथै, बजेट पारित गरेर जाने विषयमा उच्चस्तरीय समझदारी बनेको छ ।
बजेट पारित गर्नु अघिल्लो दिन प्रमुख सत्ता घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बजेटमा राखिएको उर्जासम्बन्धी टेक एण्ड पे को प्रावधान हटाउनको लागि दबाब दिएका थिए । उक्त प्रावधान नहटाए बजेट नै पारित गर्न नसकिने देउवाको चेतावनी थियो । प्रधानन्त्री केपी शर्मा ओलीले देउवालाई उक्त प्रावधान हटाईने विश्वास दिलाएका छन् ।

बालुवाटारको छलफलमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र कांग्रेस नेता कृष्णप्रसाद सिटौला र एमाले महासचिव शंकर पोखरेल सहभागी थिए ।