सुन तस्करी प्रकरणः शुद्धीकरण मुद्दामा अमला हजिर जमानीमा रिहा


काठमाडौं, १० असार । सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोका शुद्धीकरण मुद्दामा हाजिर जमानीमा रिहा भएकी छन् । हिजो (सोमबार) काठमाडौं जिल्ला अदालतबाट उनी दुई लाख धरौटीमा रिहा भएकी थिईन् । रिहा भएको केही समयमा नै उनलाई शुद्धीकरण मुद्दामा पक्राउ गरिएको थियो ।

पक्राउ परेकी अमलालाई सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको थियो । उनलाई हिजो (सोमबार) राति नै आफन्तको जिम्मा लगाएर रिहा गरिएको स्रोतले बतायो ।

६१ किलो सुन तस्करी प्रकरणमा नाम जोडिएपछि उनी फरार रहँदै आएकी थिईन् । रोकाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरिएको थियो । उनी केही दिनअघिमात्रै काठमाडौंबाट पक्राउ परेकी थिईन् । अमला उक्त सुन तस्करीमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन् ।

गत २०८० साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट ६१ किलो सुन बरामद गरेको थियो । अमलाको राजनीतिक निकटता नेकपा (माओवादी केन्द्र) सँग रहेको बताइन्छ । ठमेलमा रहेको होटेल भियना अमलाको नाममा रहेको छ ।

राजनीतिक नेतृत्वकै दवाबमा सम्पत्ति शुद्धीकरणले अमलालाई छाडेको चर्चा सुरु भएको छ ।