पाँच लाखभन्दा बढी नेपालीहरु विदेशमा अवैध रुपमा बसिरहेका छन्ः श्रममन्त्री भण्डारी


काठमाडौं, १० असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले अहिले करिब ५ लाखभन्दा बढी नेपालीहरु विदेशमा अबैध रुपमा बसोबास गर्दै आइरहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यसरी अवैध (अनडकुमेन्टेड) रुपमा बसोबास गरिरहेका उनीहरुले सामाजिक सुरक्षा, विमालगायतका सुविधाबाट बञ्चित हुन परिरहेको बताए ।

‘करिब ५ लाखभन्दा बढी त्यस्ता नेपालीहरु बाहिर छन्, जो अनडकुमेन्टेड छन् । त्यहाँ काम गरिराखेका छन्, विभिन्न ठाउँबाट गएर काम गरिराखेका छन् । तर, डकुमेन्टेसनको अभावले गर्दाखेरी, श्रमस्वीकृतिसँग आवद्ध छैनन् । जसले गर्दा यहाँ योगदानका कुराहरु छन्, सामाजिक सुरक्षाका कुराहरु छन्, विमाका कुराहरु छन् । त्यो पाइरहेका छैनन्,’– उनले भने ।

मन्त्री भण्डारीले कुबेतमा सरकारले महिला कामदार पठाउन रोक लगाए पनि ४८ महिलाहरु विभिन्न माध्यमबाट त्यहाँ पुगेको उनले बताए ।