भिजिट भिसा प्रकरणमा सरकारले टालटुल समिति बनाएर फासफुस पार्ने रणनीति लियोः रास्वपा उपाध्यक्ष वाग्ले


काठमाडौं, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणमा सरकारले टालटुल समिति बनाएर मुद्दा फासफुस पार्ने रणनीति लिएको टिप्पणी गरेका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भिजिट भिसा प्रकरणमा जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा न्यायिक समिति वा सहकारी छानविनकै मोडलको समिति बनाइनुपर्ने बताए ।

‘जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा न्यायिक छानविन आयोग नै गठन हुनुपर्छ । वा नीतिगत र प्रणालीगत कुरामा ध्यान दिने हो भने सहकारी छानविनकै मोडलमा संसदीय छानविन समिति बन्नुपर्छ,’– उनले भने ।

नेता वाग्लेले आफूहरुले जेठ १३ गतेदेखि हामी आन्दोलन सुरु गरेकोमा२५ गतेसम्म पनि भिजिट भिसा प्रकरणको सेटिङ जारी रहेको उनले बताए । आफूहरुसँग त्यसलाई पुष्टि गर्ने यथेष्ट प्रमाण रहेको पनि उनले बताए । सरकारले भिजिट भिसाजस्तो गम्भीर प्रकरणलाई टालटुल समिति बनाएको उनको आरोप छ । ‘यति गम्भीर विषयलाई टालटुल समिति बनाएर फासफुस गर्ने रणनीतिमा यो सरकार गएको देखिन्छ,’– उनले भने ।