काठमाडौं, १० असार । सुर्खेतमा बसोबास गर्दै आएका राउटेहरुले आफूहरुलाई खानेकुरा र लगाउने लत्ताकपडाको समस्या रहेको बताएका छन् । राउटे बस्तीमा बस्तीमा पुगेका पत्रकार ऋषि धमलासँग कुराकानी गर्दैै उनीहरुले आफ्ना समस्या राखेका हुन् । उनीहरुले त्यहाँ ४० घर रहेको र प्रत्येक घरलाई २÷२ बोरोको दरले चामल पठाइदिन आग्रह गरे ।
‘खानको लागि चामल चाहियो । प्रत्येक घरमा दुई÷दुई बोरा चाहियो । यहाँ ४० घर छ । ८० बोरा चामल चाहियो, तरकारी पनि चाहियो । तेल चाहियो, बिना भुटुन खान सकिँदैन । यति हो हामीले भन्ने कुरा,’– राउटेका मुखियाले भने ।
अर्का वीरबहादुर मुखियाले आफूहरुलाई खानासँगै लत्ताकपडाको पनि आवश्यकता रहेको बताए । उनले राउटे भनेपछि पत्रकारहरुले पनि धेरै माया गरेको सुनाए । मुखिया वीरबहादुरले नेताहरु पनि आफूहरुलाई भेट्न बेलाबेलामा आउने गरेको सुनाए । आफू मुखिया रहेको बताउँदै उनले मुखियाले राम्रो कपडा लगाउनुपर्नेमा आफूसँग नरहेको सुनाए । ‘खाने कुरा पनि चाहियो, कपडा पनि चाहियो त । पूरानो भइसक्यो, धेरै चिलाउँछ । ठीक भएन यो, मुखियाजीले अलि राम्रो कपडा लगाउनुपर्ने हो त,’– उनले भने ।

राउटेका मुखिया वीरबहादुरले बालबाच्चाहरुलाई नपढाउने बताए । उनले आफूले पनि नपढेको, बाजेहरुले पनि नपढेको सुनाए । ‘हामी पढाउँदैनौं । पुर्खादेखि नै नपढाएको । हाम्रो बाजेहरु पनि नपढेको, म वीरबहाद्ुर मुखिया पनि नपढेको भनेपछि हामी कति पनि नपढाउने,’– उनले भने ।
साथै, राउटेका एक बालकले आफूहरुले पढ्न नहुने बताए । उनले भने, ‘हामी पुर्खादेखि नै यस्तै हो, हामी त नपढ्ने हो त । जंगलमा बस्ने मान्छे हो । पढ्न हुँदैन हामी ।’
उनीहरुले आफूहरु दिनभरी जंगलमा जाने, दाउराको काम गर्ने गर्नेगरेको सुनाए । असार महिनाभर यही ठाउँमा बस्ने र त्यसपछि फेरि अर्को ठाउँमा बसाईँ सर्ने पनि उनीहरुले बताए ।
अर्का राउटेले खानालाई समस्या रहेको, घर चुहिने भइसकेको र सरकारले अलिअलिमात्रै सहयोग गरेको बताए ।




प्रतिक्रिया