फेसबुकले हेपेको भन्दै सञ्चारमन्त्री रिसले चुर


काठमाडौं, १० असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोसियल मिडिया प्रदायक संस्थाहरुले नेपालमा दर्ता गर्न नमानेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल फेसबुकको कम्पनी मेटालगायतलाई दर्ताको लागि ३ पटकसम्म आग्रह गर्दा नमानेको बताएका हुन् । उनले उनीहरुले नेपाललाई हेपेर बोलेको बताए ।

‘तीन पटक हाम्रो मन्त्रालयले रजिष्ट्रेसनको लागि आग्रह गर्यो । तीन पटक आग्रह गर्दाखेरी उनीहरु आएको छैन । हामीले धेरै पटक विभिन्न च्यानल प्रयोग गरेर उनीहरुसित सम्पर्क गर्ने प्रयत्न गर्यौं । म दुःखको साथ के भन्न चाहन्छु भने तिनीहरुले हाम्रो देशलाई सार्वभौम देश पनि नमान्ने । हाम्रो देशलाई हेपेर बोल्ने, सोसल मिडियालाई नियमन गर्ने विधेयक पनि नभएको देश भन्ने आलोचना गरेर बसिराख्ने कारणले गर्दा अहिले हामी त्यसको अध्ययन गर्दैछौं,’– उनले भने ।

साथै, दर्ता प्रक्रियामा नआएका कम्पनीहरुलाई प्रतिबन्ध लगाइने उनले धारणा व्यक्त गरे । उनले भने, ‘विधेयक पास नहुन्जेल हामीले निर्देशिका छ, त्यसको आधारमा सञ्चालन गर्छौं । त्यसको आधारमा पनि उनीहरु भन्दाखेरी आएन भने नेपालको कानून नमान्नेहरु, नेपालको नियम नमान्नेहरुलाई हामीले सधैं मानिराख्नुपर्छ भन्ने छैन । त्यसलाई व्यवस्थापन गर्छौं ।’