नेसनल प्याब्सन भक्तपुरको वृहत शिक्षक प्रशिक्षण सम्पन्न


भक्तपुर । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत ३४१ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । शिक्षक प्रशिक्षित र अब्बल भएमात्र शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी भई सिकाई उपलब्धि पूरा हुन सक्छ र यसका लागि निरन्तर विभिन्न तालिम आवश्यक पर्ने भएकाले नेसनल प्याव्सन भक्तपुरले गर्दै यस्ता कार्यक्रम गर्दै आएको बताइएको छ ।

यहि जेठ २४ गते शनिबार कक्षा ४ देखि कक्षा ८ सम्म अध्यापनरत गणित विषयका शिक्षकहरुलाई विषय विज्ञ डा.रमेश प्रसाद अवस्थीद्वारा प्रशिक्षण गरिएको थियो । सामाजिक विषयका शिक्षकहरुको लागि सहजकर्ता विषय विज्ञ जीवन राज पन्थी र प्रभाति किरणद्वारा प्रशिक्षण गरिएको थियो ।

साथै, जेठ ३१ गते शनिबार लेखापालहरुको लागि नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयहरुमा व्यवस्थित लेखा प्रणाली एवं कर सम्बन्धि अभिमुखीकरण सीए सुनिल श्रेष्ठद्वारा गरिएको थियो । त्यसै गरी असार ७ गते शनिबार पूर्व प्राथमिक तहका शिक्षकहरुको लागि विज्ञ डा.मिनाक्षी दाहालद्वारा सहजीकरण गरिएको थियो । सोहि दिन कक्षा ४ देखि ८ सम्मका नेपाली विषयका शिक्षकहरुको लागि प्रोफेसर डा.ध्रुव कुमार घिमिरे र विज्ञान विषयको विषय विज्ञ डा. चिन्तामणी पन्थीद्वारा प्रशिक्षण गरिएको थियो ।

वृहत शिक्षक प्रशिक्षण सम्बन्धि जानकारी गराउँदै तालिम उपसमिति संयोजक रमेश प्रसाद सिटौलाले विगत वर्षहरुमा पनि शिक्षकहरुको क्षमता विकासको लागि यस्ता प्रशिक्षण गर्दै आएको एवं आगमि दिनहरुमा पनि सदस्य विद्यालयहरुको सुदृढिकरणको लागि अन्य थप तालिमहरु गरिने बताए ।

नेसनल प्याब्सन भक्तपुरले कक्षा ४ देखि कक्षा ८ को चारवटा विषय नेपाली, गणित, विज्ञान र सामाजिकको प्रशिक्षणबाट पाठ्यक्रम, सिकाई उपलब्धि, शिक्षण विधि लगाएतमा शिक्षकहरु सक्षम हुने कुरा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले बताए । खड्काले पूर्व प्राथमिक तहका शिक्षक र लेखापाललाईसमेत प्रशिक्षणले सदस्य विद्यालयको गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी, कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सत्यशक्ति पुस्तक भण्डारका महेश थापालगायत यूरेका पब्लिकेशनका बिएन पण्डित, ग्रीन बुक्सका विजय कृष्ण महर्जन र ओएसिस पब्लिकेशनका हरिश चन्द्र विष्टलाई नेसनल प्याव्सन भक्तपुरका कोषाध्यक्ष विक्रम थापाले धन्यवाद सन्देश व्यक्त गरे ।