काठमाडौं, ११ असार । आज छ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अहिले बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिबृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदन उपर छलफल गरिने कार्यसूची रहेको छ। यसका साथै आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरुका सम्बन्धमा समसमायिक छलफल गरिनेछ।
११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको ७९औँ बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ।
बिहान ११ बजे नै बस्ने तय भएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवम् प्रतिवेदनको मस्यौदा उपर छलफल गरिने कार्यसूची रहेको छ।
त्यस्तैगरी, बिहान सवा ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २८२ औँ बैठकमा बागमती प्रदेशस्थित दोलखा लगायतका क्षेत्रहरुमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा गरिनेछ।
दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीमा छलफल हुनेछ। दिउँसो १ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको ८३औँ बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिनेछ।




प्रतिक्रिया