सरकारले कुनै पनि प्रतिवद्धता पूरा गरेन, संविधान संशोधनको त अत्तोपत्तो छैनः उपेन्द्र यादव


काठमाडौं, ११ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले सुशासन, समृद्धि, भ्रष्टाचार नियन्त्रण र संविधान संशोधनका लागि सरकारलाई समर्थन दिएकोमा कुनै पनि काम नभएपछि समर्थन फिर्ता लिन बाध्य भएको बताएका छन । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले सरकार बन्दा व्यक्त भएको प्रतिवद्धताको विपरीत कमिशनतन्त्र र लुटतन्त्र व्यापक भएर गएको बताए । यस्तो अवस्थामा जसपा नेपालले समर्थन दिनु र नदिनुले कुनै अर्थ नराख्ने उनको भनाइ छ ।

‘सरकारले समर्थन माग्दाखेरी यो मुलुकमा सुशासन दिन्छु, भ्रष्टाचार नियन्त्रण गर्छु, अर्थतन्त्रलाई सुदृढ बनाउँछु र संविधान संशोधन गर्छु भनेर प्रतिवद्धता जाहेर गरेको थियो । तर, एक वर्ष वितिसक्दा पनि ती कुनै पनि प्रतिवद्धता त पूरा गरेन । सुशासनको ठाउँमा कुशासन, भ्रष्टतन्त्र र अर्थतन्त्र धरासायी भएको छ । संविधान संशोधनको अत्तोपत्तो छैन । अहिले कमिशनतन्त्र र लुटतन्त्र व्यापक भएर गएको छ । यस्तो अवस्थामा हाम्रो समर्थनले के अर्थ राख्छ र ?’ प्रश्न गर्दै उनले भने ।

कांग्रेस–एमालेसहितको गठबन्धन सरकारको औचित्यता नै सकिएको उनको दाबी छ । नेता यादवले आफूहरुको लक्ष्य कांग्रेसएमाले गठबन्धन सरकार ढाल्ने भन्दा पनि सही बाटोमा ल्याउनु रहेको बताए । ‘सरकारले सुशासन, समृद्धिका लागि काम गरोस्, संविधान संशोधन गरोस् त्यसका लागि हो । रोजगारी सिर्जना गरोस्, शिक्षा र स्वास्थ्यमा राम्रो सुधार गरोस्, भूमि सुधार ल्याएर जनताको हितमा काम गरोस भन्नका लागि हो हाम्रो यो कदम,’ उनले भने ।