काठमाडौं, ११ असार । नागरिक उन्मुक्ति पार्टीका १५ जना सांसदले काठमाडौंमा भेटवार्ता गरेका छन् । संघीय सांसद–४, लुम्बिनी प्रदेशका ४ र सुदूरपश्चिम प्रदेशका ७ गरी १५ सांसदले काठमाडौंमा सामुहिक छलफल गरी पार्टी एकतावद्ध रहेको सन्देश दिएका हुन् । नउपा अध्यक्षसमेत रहेकी प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीले आफूहरुको भेट सार्वजनिक गरेकी हुन् ।
‘पार्टी रहे सांसद रहन्छन्। एकता र संघर्षको आधार नभए न पार्टी बाँच्छ, न पहिचान टिक्छ। आज नागरिक उन्मुक्ति पार्टीका १५ जना सांसदहरूको सामूहिक उपस्थिति हाम्रो आन्तरिक एकता, उद्देश्यप्रति प्रतिबद्धता र जनताको विश्वासको प्रतिविम्ब हो,’– उनले फोटो सार्वजनिक गर्दै भनेकी छन् ।
उनले आफूहरु सांसदमात्रै नभएर रेशमलाल चौधरीको बलिदान र संघर्षबाट जन्मिएको पहिचान रहेको बताएकी छन् । जनताको साहस र आवाजको रुपमा आफूहरु रहेको उल्लेख गर्दै उनले त्यही मूल्य र मार्गदर्शनले अघि बढिरहेको बताएकी छन् ।
‘यदि एकता छैन भने पद पनि खाली हुन्छ, पहिचान पनि हराउँछ। तर जब हामी एकढिक्का छौं, तब संसद हाम्रो माध्यम हुन्छ । जनता हाम्रो शक्ति र न्याय हाम्रो लक्ष्य हामी र हाम्रो पार्टी दुवै तबसम्म बाँच्छ जबसम्म हामी एकताको शक्तिमा अडिग रहन्छौं। सङ्घर्षबाट जन्मिएको आन्दोलनको यो यात्रा अझ मजबुत बनाउँदै लैजानेछौं,’– उनले भनेकी छन् ।




प्रतिक्रिया