ऐनका मितिभित्र बजेट ल्याउनबाट चुक्यो महानगर, बालेनलाई बजेट तथा कार्यक्रम तर्जुमा समितिको ध्यानाकर्षण


काठमाडौं, ११ असार । काठमाडौं महानगरपालिकाले कानूनले तोकेको मितिमा बजेट ल्याउन सकेको छैन । कानूनतः असार १० भित्र स्थानीय तहहरुले बजेट ल्याउनुपर्ने हुन्छ । देशभरका आधिकांश स्थानीय तहले बजेट ल्याउँदा देशको सबैभन्दा धेरै जनसंख्या भएका काठमाडौं महानगर भने बजेट ल्याउनबाट चुकेको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको टकरावको कारण ऐनको मितिभित्र बजेट आउन नसकेको हो ।

बजेट ल्याउन बालेनले बैठक नबोलाएपछि बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक हिजो बसेको छ । बैठकमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ ले आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र नगरसभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था गरेकोमा ऐनले तोकेको उक्त समयसीमाको पालना हुन नसकेको सम्बन्धमा गम्भीर समीक्षा भएको बताइएको छ ।

साथै, समितिको काम कारवाहीमा सहजीकरण गरिदिनको लागि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिका संयोजक बालेनलाई ध्यानाकर्षण गराइएको छ ।